​रसुवामा बाढीपीडितका लागि नेपाल रेडक्रस सोसाइटीद्वारा राहत वितरण र आश्रयस्थल निर्माण तीव्र


​रसुवा— नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी बाढीबाट प्रभावित रसुवाका बाढीपीडितहरूका लागि राहत वितरण, नगद सहयोग तथा आपतकालीन आश्रयस्थल व्यवस्थापनको कामलाई तीव्रता दिएको छ।

​बाढीपीडितहरूलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले रसुवाको उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा राहत तथा निर्माणका कार्यहरू भइरहेका छन्। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपाने (सरोज) का अनुसार, स्याफ्रुबेसीमा १५३ घरपरिवारका लागि आपतकालीन आश्रयस्थल (शेल्टर) निर्माणको काम भइरहेको छ । त्यस्तै, दसैँअघि नै उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका बाढीपीडितहरूलाई नगद राहतसमेत वितरण गरिएको केन्द्रीय सदस्य न्यौपानेले जानकारी दिए।

​मानवीय सेवामा सधैँ समर्पित रहँदै आएको रेडक्रसले आपतकालीन राहतदेखि बासस्थानको प्रबन्धसम्मका सम्पूर्ण गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको। छ।

​राहत वितरण तथा क्षेत्र अनुगमनका क्रममा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासङ्घ (IFRC) का कन्ट्री डाइरेक्टर डेभिड फिसर, नेपाल रेडक्रस सोसाइटीका सभापति डा. विशाल भण्डारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धर्मदत्त उप्रेती लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

​केन्द्रीय सदस्य न्यौपानेले अब तत्कालको राहत वितरणसँगै बाढीपीडितहरूको दीर्घकालीन हितलाई ध्यानमा राखेर पुनस्थापना, पुनर्बास, रोजगारी सिर्जना र विकास निर्माणका योजनाहरू अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

​

यसमा तपाइको मत