
नौडाँडा काटेर आएँ : आर्यन राउत
नौडाँडा काटेर आएँ, तिम्रै माया खोज्दै
आँखाभरि सपना बोकी, तिम्रै बाटो रोज्दै
डाँडापारि घाम डुब्यो, मनमा साँझ पर्यो
तिमीबिना यो जिन्दगी, आधा–आधा भयो
नौडाँडा काटेर आएँ, तिम्रै माया खोज्दै
जुनीभरि तिम्रै हुने, कसम आफैँसँग गर्दै।
लेकबेँसी साक्षी राखी, माया गाँसेका थियौँ
एउटै मुटु दुईतिर बाँडी, सपना साटेका थियौँ
खोलाले त बाटो फेर्यो, समयले साथ छोड्यो
तिमीलाई पाउने आशमा, भाग्यले आँसु जोड्यो
जति टाढा भए पनि, मन त टाढा हुन्न
साँचो माया गर्ने मुटु, कैलेहि अरुको हुन्न।
चौतारीको वरपीपल, अझै उस्तै होला
हामी हिँड्ने गोरेटोमा, तिम्रै पाइला होला
तिमी हाँस्दा फूल फुल्थे, मेरो सानो संसारमा
आज किन काँडा मात्रै, फुल्छन् यो मनको बगैँचामा
भगवान्सँग मागेको थिएँ, तिम्रै साथ जुनीभरि
लेखिएको रहेछ कि क्या हो, आँसु मात्रै भागभरि।
यदि हाम्रो माया पाप हो, सजाय मलाई देऊ
तिम्रो आँखामा आँसु आए, मेरो खुसी लैजाऊ
जुनी फेरि पाइयो भने, त्यही गाउँमा भेटौँला
अधुरो यो मायालाई, अर्को जुनीमा लेखौँला।



