
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ७ मा जन्मिएकी इना बेल्वासे सानैदेखि कला र सङ्गीतप्रतिको गहिरो लगाव राख्थिन । यही कारण गाउँघरमा एक प्रतिभावान व्यक्तित्वका रूपमा चिनिन्थिन्। बाल्यकालमा विद्यालय तथा गाउँघरमा आयोजना हुने साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता रहने गर्दथ्यो। गायिका, शिक्षिका वा सुरक्षाकर्मी (सेना) बन्ने सुन्दर सपना बोकेकी उनले पारिवारिक कारणले नयाँ दिल्लीमा बसाइँ सर्दासमेत सङ्गीतप्रतिको आफ्नो हुटहुटीलाई कहिल्यै मर्न दिइनन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना सुमधुर स्वरका भिडियोहरू पोस्ट गर्दै स्रोताहरूको मन जितेकी उनी सांगीतिक निरन्तरताका क्रममा मनकारी व्यक्तित्व गोविन्द पौडेलसँग जोडिन पुगिन्। पौडेलसँगको सहकार्यमा ‘यी आँखामा आँसु’ गीतमा पहिलो पटक स्वर दिँदै साङ्गीतिक आकाशमा औपचारिक पाइला टेकेकी बेल्वासेले त्यसपछि भने कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन।

पहिलो गीतको सफलताले थप हौसला प्रदान गरेपछि उनी आफ्नो साङ्गीतिक यात्रालाई अझ उचाइमा पुर्याउने उद्देश्यले परदेशको बसाइँलाई बिट मारेर काठमाडौं फर्किइन् र पूर्ण रूपमा सङ्गीतसाधनामा समर्पित भइन्। राजधानीको यो संघर्षपूर्ण यात्रामा आफूलाई डोहोर्याउन र सङ्गीत कलाका आधारभूत पाटोहरू सिकाउन सङ्गीतकर्मी कुशल विश्वकर्माको अमूल्य योगदान रहेको उनी भावुक भएर स्मरण गर्छिन्।
आफ्नै सन्तान झैँ हात समातेर स्टुडियोसम्म पुर्याउने र साङ्गीतिक मार्गनिर्देशन गर्ने दाजु विश्वकर्माप्रति उनी सधैँ कृतज्ञ र ऋणी छिन्। समाजका नकारात्मक कुरा र दृष्टिकोणलाई कहिल्यै कदर नगरी आफ्नै कर्ममा निरन्तर अगाडि बढिरहेकी बेल्वासेले कुशल विश्वकर्मासँगको सहकार्यमा गाएको ‘कहाँ छौ र साइँली’ गीतले साङ्गीतिक बजारमा चर्चा कमायो । यही गीतबाट दर्शकहरूले उनलाई “ए, इना बेल्वासे उहाँ पो हो!” भन्दै विशेष चिनारी र अपार माया प्रदान गरे।

‘कहाँ छौ र साइँली’ को सफलतापश्चात उनले ‘अभागी तकदिर’, ‘नौतुना रेलैमा’, ‘पिरै पिरमा छु’, ‘ओइ सानु’, ‘किन रुवाउँछ’, ‘रुनु छैन मलाई’, ‘ए मेरी कान्छी’, र ‘दिलको दैलोमा’ जस्ता थुप्रै लोकप्रिय गीतहरू मार्फत स्रोताहरूको मुटुमा बस्न सफल भएकी छिन्।
यी यिनै सिर्जनाहरूबाट नेपाली साङ्गीतिक आकाशमा आफ्नो प्रष्ट पहिचान बनाउन सफल गायिका बेल्वासे आफूले प्राप्त गरेको यो मुकाम सम्पूर्ण दर्शक-स्रोता, परिवार र शुभचिन्तकहरूको न्यानो माया र सहयोगको प्रतिफल भएको ठान्छिन्।
“समाजले जे-जस्तो दृष्टिकोणले हेरे पनि इमानदार र कर्मप्रति समर्पित भएपछि कसैले रोक्न सक्दैन,” भन्ने दृढ विश्वासकी धनी बेल्बासे आगामी दिनहरूमा पनि स्रोताहरूको यस्तै माया र आशिर्वाद पाइरहनेमा पूर्ण आशावादी छिन्।



