गाउँको परिवेशबाट सांगीतिक यात्रामा अघि बढ्दै दोलखाकी अस्मिता बस्नेत


काठमाडौं । दोलखा जिल्लाको शैलुङ क्षेत्रअन्तर्गत भैँसे गाउँ । चारैतिर हरियाली, डाँडापाखा र ग्रामीण परिवेश। यही प्राकृतिक वातावरणमा हुर्किएकी अस्मिता बस्नेतको बाल्यकाल गीत, संगीत, नृत्य र अभिनयप्रतिको रुचिमै बित्यो । गाउँकै शारदा माध्यमिक विद्यालयमा अध्ययन गर्दा उनी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थिन्। रेडियोमा बज्ने गीत सुन्दा आफू पनि त्यसरी नै गाउन सक्ने कल्पना गर्थिन्। टेलिभिजनमा म्युजिक भिडियोहरू हेर्दा कलाकार बन्ने रहर जाग्थ्यो। त्यही रहर अहिले उनको सांगीतिक यात्राको आधार बनेको छ।


२०६२ सालमा दोलखाको सुन्दर पर्यटकीय क्षेत्र शैलुङ्गेश्वरीमा जन्मिएकी अस्मिता सामान्य ग्रामीण परिवारमा हुर्किइन्। उनको बाल्यकाल घाँसपात, मेलापात, वनपाखा, खेलकुद अनि पढाइसँगै बित्यो। आमा-बुबाको साथ र हौसलाले उनलाई आफ्ना रुचिका क्षेत्रमा अघि बढ्न प्रेरित गरिरह्यो। पढाइमा समेत अब्बल रहेकी उनले प्लस टूसम्मको अध्ययन पूरा गरेकी छन्।
विद्यार्थी जीवनदेखि नै अस्मिता गीत गाउन, नाच्न र नाटकमा अभिनय गर्न रुचाउँथिन्। विद्यालय तथा गाउँघरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा उनको सक्रिय सहभागिता रहन्थ्यो। यस्ता कार्यक्रमले उनलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मात्र दिएनन्, कला क्षेत्रमा अघि बढ्ने आत्मविश्वाससमेत दिलायो ।
गीतसंगीत र म्युजिक भिडियोप्रतिको आकर्षणले उनलाई गायन क्षेत्रमा प्रवेश गर्ने प्रेरणा दियो। गायनसँगै अभिनय र नृत्यमा पनि रुचि राख्ने अस्मिता आफ्नो प्रतिभालाई निरन्तर तिखार्दै छिन्। बाल्यकालदेखि देखेको कलाकार बन्ने सपना पूरा गर्ने लक्ष्यसहित उनी सांगीतिक यात्रामा अघि बढिरहेकी छन्।


अस्मिताले औपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेको धेरै समय भएको छैन। उनको पहिलो रेकर्डेड गीत ‘अरनिको बसैमा आउँछु दशैँमा’ हो। त्यसपछि सार्वजनिक भएको दोस्रो गीत ‘कोटेश्वरमा बोलाएर’ ले पनि श्रोतामाझ राम्रो प्रतिक्रिया पाएको छ। यसबाहेक उनका केही अन्य गीतसमेत रेकर्ड भइसकेका छन्। प्रारम्भिक चरणमै रहेका उनका यी प्रयासले संगीत क्षेत्रमा अघि बढ्ने उत्साह थपेका छन्।
अस्मिता संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई भावना र अनुभूति व्यक्त गर्ने सुन्दर माध्यमका रूपमा लिन्छिन्। गायन क्षेत्रमा निरन्तर मेहनत गर्दै आफ्नै पहिचान बनाउने उनको लक्ष्य छ। उनी भविष्यमा गायनसँगै अभिनय र नृत्यमा समेत आफ्नो क्षमता प्रस्तुत गर्न चाहन्छिन्।

यसमा तपाइको मत