
नेपाली गीतसंगीतको फराकिलो आकाशमा अनेकौँ प्रतिभाहरू आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छन्। यही भीडमा आफ्नै मेहनत, निरन्तरता र सिर्जनशीलताका माध्यमबाट फरक परिचय बनाउँदै गरेका परिचित नाम हुन्– खगेन्द्र थामी, अर्थात् खुसी भाइ। कम्पोजर, संगीतकार, एरेन्जर, गायक तथा म्युजिक भिडियो निर्देशकका रूपमा सक्रिय उनी नेपाली संगीत क्षेत्रमा बहुआयामिक भूमिका निर्वाह गरिरहेका छन्।
खुसी भाइको सांगीतिक यात्रा रहर र रुचिमा मात्र सीमित छैन। यसभित्र संघर्ष, अनुभव र सपनाहरू जोडिएका छन्।
उनले सन् २०११ देखि संगीत सिक्न सुरु गरेका थिए। संगीतप्रतिको लगाव र सिकाइलाई निरन्तरता दिँदै सन् २०१७ मा औपचारिक रूपमा सांगीतिक क्षेत्रमा अघि बढेका प्रतिभा हुन् , खुशी भाइ ।
व्यक्तिगत जीवनका उतारचढावले उनलाई कमजोर बनाउनुको सट्टा सिर्जनातर्फ अघि बढ्न प्रेरित गर्यो। यही जीवन भोगाइको प्रतिबिम्ब उनको ‘दुःख लुकाउन’ गीतमा पनि सुन्न सकिन्छ। गीतका शब्द र भावमार्फत उनले आफूले भोगेका पीडालाई अभिव्यक्त गरिरहेका छन्।

सन् २०१७ मा ‘खोज्दैथे मेरा हृदय’ गीत सार्वजनिक गर्दै उनले युट्युबमार्फत दर्शक तथा श्रोतामाझ औपचारिक उपस्थिति जनाएका हुन् । उक्त गीतले पाएको प्रतिक्रियाले उनलाई संगीत क्षेत्रमा थप सक्रिय हुन उत्साहित बनायो। संगीतलाई व्यवस्थित रूपमा सिक्ने उद्देश्यले उनले सुम्निमा कल्चर एकेडेमीमा दुई वर्ष गायन र दुई वर्ष गितारको अध्ययन गरे। त्यसपछि वरिष्ठ संगीतकार गुरुदेव कामतसँग समेत संगीतसम्बन्धी ज्ञान र अनुभव हासिल गर्ने अवसर पाए।
उनको सांगीतिक यात्राको एउटा महत्वपूर्ण पक्ष दृष्टिविहीन गायिका सुस्मिता राईसँग जोडिएको छ। गीतसंगीतमा आफ्नो सपना अधुरै छाड्न नचाहेकी सुस्मिताको एउटा विशेष इच्छा थियो– चर्चित गायक राजेशपायल राईसँग गीत गाउने। खुसी भाइले उनको यही सपनालाई सम्मान गर्दै सहकार्यको वातावरण तयार गरे। फलस्वरूप सन् २०१८ मा सुस्मिता राईले राजेशपायल राईसँग ‘भोजपुरै जिल्ला’ गीत गाउने अवसर पाइन्।

समयक्रमसँगै उनको सांगीतिक सहकार्यको दायरा पनि फराकिलो बन्दै गयो। उनले राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, रचना रिमाल, टीका प्रसाईं, मेलिना राई, कर्णदास, राजु परियार, मिलन नेवार, सुनिता थेगिमलगायत स्थापित नेपाली कलाकारसँग काम गर्ने अवसर प्राप्त गरेका छन्। यसैगरी संगीत संयोजन अर्थात् एरेन्जरका रूपमा मनि ताम्लिङ, बाबुल गिरी, मनोज थापा मगर, पुष्कर सुनुवार, विनोद बाजुरालीलगायत संगीतकर्मीसँग सहकार्य गरेका छन्। पछिल्लो समय उनी संगीत संयोजनमा समेत सक्रिय छन्।
संगीत सिर्जना र संयोजनमा मात्र सीमित नरही उनले म्युजिक भिडियो निर्देशनमा पनि आफ्नो क्षमता विस्तार गरेका छन्। बुद्धि तामाङ, उमेश राई, एलिश राई, बिना राउत, पुण्य गौतम, जिम्बे राईलगायत कलाकारसँग उनले भिडियो निर्माण तथा निर्देशनका क्रममा सहकार्य गरिसकेका छन्।
सयौँ गीतमा कम्पोज, संगीत संयोजन तथा विभिन्न सिर्जनात्मक भूमिकामा योगदान पुर्याएका खुसी भाइको यात्रा निरन्तर सिकाइ र सिर्जनाको यात्रा हो।
नेपाली गीतसंगीतको मूलधारमा आफ्नो उपस्थिति स्थापित गर्दै आएका उनी नयाँ प्रतिभालाई संगीतसँग जोड्ने काममा समेत सक्रिय छन्।

एउटा सपना पूरा गर्न अर्काको सपना बुझ्न सक्ने खुसी भाइको सांगीतिक यात्राले प्रतिभा, मेहनत र सहकार्यको महत्वलाई उजागर गर्छ।
सन् २०११ मा सिकाइबाट सुरु भएको उनको यात्रा सन् २०१७ देखि व्यावसायिक तथा औपचारिक सांगीतिक सक्रियतामा अघि बढ्दै आजसम्म निरन्तर अगाडि बढिरहेको छ।



