प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न मधेस केन्द्रित दलका नेताहरुसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाए


फागुन, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न मधेस केन्द्रित दलका नेताहरुसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएका छन् ।

मधेसी दलहरुको सहमतिकै आधारमा स्थानीयत तहको निर्वाचन मिति घोषणा गर्नका लागि प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलका नेताहरुलाई शनिबार बिहान १० बजे छलफलका लागि बोलाएका हुन् ।

 

प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ ।

सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर आजै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । मधेसी दलहरुले संविधान संशोधनबिना निर्वाचनमा जान नसकिने अडान लिँदै आएका छन् भने सरकारले संविधान संशोधन र निर्वाचनलाई सँगैसँगै अघि बढाउने योजना बनाएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधनलाई थाती राखेर निर्वाचन जानुपर्ने अडान लिइरहेको छ ।

यसमा तपाइको मत