सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माअोवादीलाई अाग्रह गर्ने निर्णय गरेको छ’, श्रेष्ठले भने, ‘सरकारबाट बािहरिए पनि संविधान संशोधनका पक्षमा भोट हाल्ने र स्थानीय निर्वाचनमा डटेर लाग्ने निर्णय गरेका छौं।’
यसअघि सरकार छोड्ने/ नछोड्ने र संविधान सशोधनका विषयमा राप्रपामा विवाद चुलिएको थियो। यसबारे निर्णय गर्न सोमबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको बैठकले कुनै निर्णय गर्न नसकेपछि अहिले पाँच फेरि बैठक बसेको थियो।
हिजो पार्टीको ह्विप अवज्ञा गर्दै राप्रपाका १० जना सांसद संसद बैठकमा उपस्थित भएका थिएनन्। बैठक अनुपस्थितमध्येका एक सांसदले सेतोपाटीसँग भने– हामी अहिले पनि एक ढिक्का छौं, अहिले आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन, यो पारित हुनु हुँदैन।
उनले आफूहरुले नेतृत्वलाई संशोधनका पक्षमा मतदान गर्नु नै पर्ने अवस्था आए पार्टीले सरकार छोड्नु पर्ने आफूहरुको अडान रहेको बताए। पार्टी अध्यक्ष कमल थापा सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावको पक्षमा थिए भने केही सांसद संशोधनको विपक्षमा थिए।




