‘नेपाल यौनसाहित्यका बादशाह’ लोहनी


काठमाडौं: उमेरले सत्तरी वर्ष काटे पनि कवि तथा आख्यानकार पुष्कर लोहनीको हाउभाउमा त्यसको कुनै छेकछन्द थिएन।
 download
स्रष्टा समाज काठमाडौं नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘हामी सुन्छौं पुष्कर लोहनीलाई’ कार्यक्रममा फ्रायडवादी अग्रज कवि लोहनीले दुई दर्जनभन्दा बढी यौनवादी कविता मच्चीमच्ची सुनाए।
उनले कविताका साथै कोरिया, चीन र जापानमा प्रचलित हाइकु, तान्का र सिजोमा पनि यौनरस घोलेर सुनाए । उनले भने, ‘यौन जीवनको अभिन्न अंग हो । त्यसैले यो सिर्जनामा सहजै आउँछ।’
७८ वर्षीय लोहनीले यौनलाई विभिन्न प्रतीक एवं बिम्बद्वारा अभिव्यक्त गरेका थिए । आफूले सत्र वर्षको उमेरदेखि नै यौनसाहित्यबारे निरन्तर लेखिरहेको र नमरुन्जेल यसलाई अगाडि बढाउने उनको भनाइ थियो।
उनले आफ्ना सिर्जनालाई वर्तमान पुस्ताले त्यति स्वीकार नगरे पनि पछिल्लो पुस्ताले आफूलाई बुझ्ने दाबी गरे । कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले लोहनीले प्रयोगमा ल्याएको साहित्यलाई हेय दृष्टिले हेर्न नहुने बताए।
साहित्यकार मञ्जु काँचुलीले लोहनीको यौनसाहित्यमा पनि निकै दर्शन तथा अध्यात्मका विषय रहेको र तिनले मन्त्रमुग्ध पारेको बताइन्। साहित्यकार मोमिलाले ‘नेपाल यौनसाहित्यका बादशाह’ लोहनीको छुट्टै पहिचान, खुबी र आँट भएको र त्यसैमा उनी परिपूर्ण भएको बताइन्।
आयोजक अतृप्त पाण्डेयले आफूलाई लोहनीले नै माक्र्सवाद र कवितालेखन सिकाएकाले उनका कविता सुन्ने कार्यक्रम राखेको बताए ।

 

यसमा तपाइको मत