नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरे


नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् ।

भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको भन्दै उनले तराईमा भएको जनधनको क्षतिको सम्पूर्ण क्षतिपूर्ति भारत सरकारसँग लिनुपर्ने माग गरिन् ।

उनले संसदमा सम्बोधन गर्दै भनिन्– ‘लक्ष्मपुर बाँधका कारण बाँकेको राप्तीसुनारी गाउँपालिकाका फत्तेपुर, नरेना, गंगापुर, मटेरिया, टिकुलीपुर लगायतका ठाउँहरु डुबानमा परेका छन् । रसियावाल फुदौतवन बाँधका कारण कलिवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई जनधनको क्षति भएको छ । झापादेखि कञ्चनपुरसम्मको जनधनको क्षति र डुबानको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजीवादी व्यवस्थाले नेपालको भुमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो । कोशी गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भुमि डुबान र जनधन क्षति भएको हो । हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर जमिन डुबानमा पार्दै आएको छ । के यो नेपाल भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पुँजीले नेपाललाई क्षति पुग्नेगरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’

यस्तै, सरकारी निकायले प्राकृतिक प्रकोपको पूर्वतयारी तथा रोकथामको उपाय अबलम्बन नगरेका कारण जनताले यति कष्ठपूर्ण समस्या झेल्नुपरेको सांसद थापामगरको भनाई छ ।

‘मन्त्रालय विभाग अर्थात माथिदेखि तलसम्मका कर्मचारीहरु कार्यालयलाई ऐस (मोज) र बाढीपहिरो पीडित तथा मृतकका परिवारलाई केही लाख रुपैयाँ दिएर कर्तव्य पूरा गरेको सम्झने बाहेक केही काम नगरेको जनआक्रोश बढको छ,’ उनले भनिन् ।

यसमा तपाइको मत