पांच मुक्तकहरु

- शारदा घिमिरे भैल ,बनेपा ,काभ्रे


छोरीले धेरै अघाडि बनाएकी चित्र
बुझ्न गाह्राे संसार यस्तै छ बिचित्र
कहाँ कसरी बदलिएको हो समय
बाहिरबाट देखिदैन कस्तो छ भित्र ।।

आँसु लुकाएर कति हाँस्न सक्छु म
पीडा नफुकाएर कति बाँच्न सक्छु म
अन्धकार पछि बिहानी छाउनु पर्ने हो
आफैलाई दुखाएर कति नाच्न सक्छु म।।

मनमा अन्धकार कुन दीप बाल्छौ
छन् चुनौतीहरु कुन सीप थाल्छौ
बाटोमा हरेक मोड घुम्ती आउँछन्
कहाँबाट कसरी यो यात्रा चाल्छौ ??

एकले अर्काको खुट्टा तान्न छोड नेपाली
टुटाएर भत्काएका सबै जोड नेपाली
अरु देश उन्नतिका शिखरमा पुगिसके
अब अहमताको पर्खाल फोड नेपाली ।।

म फूलको नजरले हेर्छु काँडालाई
म आफै अङ्गालोमा बेर्छु काँडालाई
बाह्र वर्षपछि उन्यु फुलेर के भयो र
चारैतिर बार बनाई घेर्छु काँडालाई ।।

 

यसमा तपाइको मत