जन्मघर सबैभन्दा ठूलो रैछ ठान्छु
यसपाली दशैमा त आफ्नै गाँउ जान्छु
विदेशमा बस्ने भाई आउनु है घर
सधैभरि विदेशको हुदैन नि भर
दशमीको टिका थाप्न कुलघर जाउँ
दाजु भाई रमाएर सँगै बसि खाउँ
बा आमाले पढाउन धेरै गरे कर्म
त्यो कुराको मैले त बुझिनछु मर्म
शिक्षा दिक्षा पाइकन सहरमा आएँ
रवाफिलो सहरीया भएर नै खाएँ
अहिले त सहरमा फोहर छ हेर
स्वच्छ हावा कतैबाट आउदैन धेर
चारआना जग्गालाई पर्खालले घेरी
बनाएको घर सधै टुलटुल हेरी
पिंजडाको सुगा जस्तै भई वित्छ दिन
गाउँछाडी सहरमा आएछु म किन
धानफल्ने गैरीखेत ठूलापाटा बारी
घरमुनि वगैचामा सुन्तलाका घारी
जग्गा जमिन धेरै थिए गाँउघरतिर
चार आने सहरिया भन्दा लाग्छ पीर
गाउँबेसी रमाइलो लाग्छ प्यारो गाउँ
चारैतिर हारियाली सुन्दर रेछ ठाउँ
सहरमा बस्नलाई छैन मन थिर
मनाउँछु दशै पनि आफ्नै गाँउतिर



