हार्यौ कि जित्यौ?

- - सुरक्षा निरौला 'कृती'


आमाको ममताले रोकिने पाइलाहरु

किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि?

बालाई आइडल देख्ने आँखाले

उनको संघर्ष किन देखेनन्

अविश्रान्त निदाउनु अघि ।

आमाले गुमाएको सुन्दरता

र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा

अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी

तिम्रो खुशीको बदलामा ?

आमाका चर्चरी फुटेका गोडा देख्दा

मनमा कतै धाँजा फाटेन र?

बाको थाप्लामा परेको नाम्लोको डोबले

तिमीमा संघर्षको छाप पारेन र?

तिमीले पढेका गणितीय शुत्रले

प्रसव पिडाको हिसाब किन निकालेन?

आँसु आँसुको योगफल किन कहिल्यै खुशी भएन ?

निष्कर्षमा एउटै प्रश्न सोध्न चाहान्छु

परिवारको साहारा बन्न गाउँ छोडेको

तिमीले चुनौतीसंग लड्ने

साहस त गुमायौ नै

तर कथित प्रेमका खातिर

आफ्नै घरको मुलखाँबो भाँचेर

प्राण त्याग गर्दा भनिदेउ न

एकपटक तिमीले हार्यौ कि जित्यौ?

यसमा तपाइको मत