ललितपुर, फागुन २३ गते ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूका लागि २०७५ मंसिर ०३ गतेदेखि संचालित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण (प्रशासन सेवा) को समापन सम्पन्न गरियो ।
कार्यक्रममा ४ महिने प्रशिक्षण दौरानमा खिचिएको प्रशिक्षार्थीहरूको विभिन्न कृयाकलाप समेटिएको वृत्तचित्र प्रदर्शन गरिनुका साथै ३३ औं आधारभूत प्रशासन प्रशिक्षणका सहभागीहरूद्वारा हस्ताक्षर गरिएको मूल्यमान्यता प्रतिको प्रतिबद्धता पत्रको प्रति प्रतिष्ठानका अध्ययन निर्देशक र प्रशिक्षार्थी प्रतिनिधिमार्फत पुनर्वाचन पनि गरिएको थियो । कार्यक्रममा व्यक्तिगत तथा समूहगत रूपमा उत्कृष्ट तथा सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृत तथा दीक्षित सहभागीहरूलाई माननीय मन्त्रीज्यूबाट प्रमाणपत्र प्रदान गरिएको थियो । प्रशिक्षण कार्यक्रमका सर्वोत्कृष्ट प्रशिक्षार्थी विजयकुमार शर्मालाइ कार्यकारी निर्देशक स्वर्ण पदक प्रदान गरियो । साथै नेपाल प्रहरीबाट प्रशिक्षणको क्रममा ४ महिना आवासिय सेवा पु¥याउनु भएका प्रशिक्षकहरू प्रहरी सहायक निरीक्षक विक्रम बन्जाडे, प्रहरी जवानद्वय हेमबहादुर कुँवर र जुनेली बुढाथोकीलाई प्रतिष्ठानका कार्यकारी निर्देशकले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी लक्ष्मी मरासिनीले प्रशिक्षणका क्रममा पाएको विषयगत ज्ञानले हाम्रो ज्ञानको दायरा फराकिलो बनाएको छ भन्दै यसले हामीलाई रूपान्तरणको अवसर दिएको र प्रतिष्ठानको समय व्यवस्थापन र अनुशासन, लैगिंक मैत्री व्यवहार अन्य सरकारी कार्यलयले पनि सिक्न लायक छ र नैतिक मूल्य र मान्यतालाई पनि विषयगत कार्यक्रममा राखिनु पर्दछ, भन्ने बताउनुभयो ।
त्यस्तै सहभागी प्रशिक्षार्थी कृष्णप्रसाद पराजुलीले यस प्रशिक्षण कार्यक्रमले हामीलाई ज्ञान, शीप र व्यवहार बढाउन मात्र सहयोग पु¥याएको छैन, कार्यस्थलमा त्यो ज्ञानलाई परावर्तन गराउन पनि सिकाएको छ र अतिरिक्त क्रियाकलापहरूले हाम्रो दैनिक जीवनलाइ सकारात्मक परिवर्तन ल्याउन र देश दर्शनको कार्यक्रमले देश, समाज र सेवा प्रवाहको अवस्थालाई बुझ्न सहयोगपु¥याएको छ, भन्दै हामी हाम्रा मुल्य मान्यताप्रति प्रतिबद्ध रहँदै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न सहयोग पु¥याउने छौँ, भन्ने बताउनुभयो ।
प्रतिष्ठानका वरिष्ठ निर्देशक तथा सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख नारायण गोपाल मलेगोले यस समूहमा दिक्षित हुने प्रशिक्षार्थीहरूले आधारभूत प्रशिक्षणका साथै सेवागत विशिष्टिकृत प्रशिक्षण पनि प्राप्त गरेको बताउँदै यो अवधिमा सिकेका ज्ञान तथा सीपहरूले जीवन पद्धतिमा थप उर्जा दिएको छ, भन्नुभयो । साथै उहाँले त्यस ज्ञान र सिपले क्षमता पनि बृद्धी गरेको हुनाले त्यसलाई व्यवहार वा कार्यक्षेत्रमा उतार्नु पर्दछ भन्दै निजामती सेवाको इमेजलाई परिवर्तन गर्ने अभिभारा तपाईंहरूको काँधमा रहेको र तपाईंहरू संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी लिएर जाँदै हुनुहुन्छ, भन्ने बताउनुभयो ।
मन्त्री पण्डितले तपाईंहरू प्रतिवद्धताका साथ देशलाई चिन्ने यो अभियानमार्फत अहिले जुन खुशी साथ जाँदै हुनुहुन्छ, म पनि त्यतिकै खुशी छु, भन्नुभयो । उहाँले तपाईंहरूको अठोट कहिल्यै नमरोस् भन्दै देशमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै तपाईंहरूलाई कार्यक्षेत्रमा समायोजन गरी पठाउन लागिएको हो र त्यो संविधानले देखाएको कार्यदिशा अन्तर्गत नै रहेको छ र वृत्तिविकासको सबै ढोका प्रस्तावित ऐनमा खुला राखिएको छ, सेवा सुविधा घटाएर प्रदेश सरकार र स्थानीय सरकारले दिन पाउँदैन भन्ने बताउनुभयो । उहाँले अब देशमा प्रणाली स्थापना गरेर नेताहरूको ढोका चाहार्ने व्यवहारको अन्त्य गर्ने उद्देश्यमा म लागेको छु भन्दै सेवा, देश, कर्तव्य, सदाचार र जनता बुझाउने कार्यमा म लाग्नेछु भन्नुभयो । उहाँले ट्रेड युनियनको सहयोग नीति निर्माण बाहेक अन्य कुनै पनि कार्यमा नलिइने बताउँदै काम नगर्ने राष्ट्रसेवक अब राष्ट्रसेवक हुन सक्दैन भन्ने बताउनुभयो । साथै अब कामको आधारमा पुरस्कृत गर्ने र दण्डित गर्नुपर्नेलाई दण्डित गर्ने प्रणाली सुरू भैसकेको र गल्ती वा अपराध गर्ने सबैले दण्ड सजाय भोग्नु पर्ने अवस्था रहने बताउँदै तपाईंहरूको युवा जोस, जाँगर प्रविधियुक्त समूहबाट म पूरा आशावादी रहेको छु र तपाईंहरूको निरन्तरको साथ सहयोग रहोस् म तपाईंहरूको साथमा रहने छु, भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले देशको शासन, प्रशासन, व्यवस्थामा सदाचार र इमान्तारिताको खाँचो रहेको बताउँदै ती विकृतिहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ, त्यो महत्वपुर्ण हुन्छ भन्ने बताउँदै सफलता र असफलता कार्यसम्पादन र कार्यक्षेत्रमा मूल्य मान्यतालाई कसरी उतारिन्छ त्यसैमा भरपर्दछ भन्नुभयो ।
प्रशिक्षणमा जम्मा १९१ प्रशिक्षार्थीहरू रहेकोमा पुरुष १५१ र महिलाहरू ४० जनाको सहभागिता थियो ।



