तिमीहरु उतै बस म कहाँ नआऊ

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,गोंगबु टोखा नपा ,काठमाडौँ


यस्तो महामारीमा मलाइ एक्लै छोडेर

जानलाई लाज लाग्दैन ?

हरेक महान चाड दशैँमा पनि

म एक्लै हुन्छु

मेरो माया नलाग्नेले किन आउनु पर्ने ?

न आऊ तिमीहरु उतै बस। …….

************************

भानुभक्तले पनि अलकापुरी भनेर

मलाइ फकाए

पृथ्वी नारायणले अमरावती नगरी  भनेर

अर्काको शब्द लिई चिप्लो घसे

चप्पले नेतादेखि  तोरी लाहुरेसम्मलाई

मेरो काखमा स्थान दिएकै हुँ।

गाँउमा फटाहा , हाडफोरुवा

लुच्चा , लफंगा सबै सबैलाई

मेरो काखमा हुर्काएँ

कोहीलाई डाक्टर , कोही इन्जिनियर

कोही पाइलट , कोही नर्स भए

तिनीहरु सबैले मलाइ किन बिर्सेको  ?

भत्केको पेटी एउटा बनाउन हिम्मत नगर्ने

किन यहाँ आउने ?

मलाइ कम्ता रीस उठेको छ कि

यस्तो महामारी र चाड पर्वमा छाडेर जानेदेखि …………..

भो तिमीहरु उतै बस आउनु पर्दैन

*******************************

अलिकति  नेवारहरुले साथ मलाई  नदिएको भए

मेरो नाम इतिहासमा मेटिने थियो

उनीहरुले नै मलाइ सिंगारे

पाटीपौवा , मठ मन्दिर

धारा चौतारा , बाटो घाटो

कुलो , कुलेसाहरु सबै बनाए

डबली , नांचगान , खानपान

सबै सबै बनाए

मलाइ खुशी पारेर

स्वच्छ सुन्दर बनाइ सिंगारे

उनीहरुको इतिहासलाई

बिबेकहिनहरुले फाली दिए

उनीहरुलाइ  नै के के नाममा

धपाइए , लखेटिए।

******************************

हेर  !!  याद राख !!!

रातले दिनलाई चिन्दैन

औंशीले पुर्णिमा  चिन्दैनन

हिजोले आजलाई बिर्सेको छ

यहाँ चामल भन्दा घुन धेरै भयो

मैले देखेको भूगोल

मैले देखेको समाजलाइ

साथ र सहयोग गर्ने हो भने

यी तराइ टुक्राउनेहरुलाई

इतिहास बन्ग्याउनेहरुलाई

बिरोधको पसल थाप्नेहरूलाई

यहाको संस्कृति सोहोर्ने मष्तिकहरुलाई

यहाँको कुम्ल्याएर बिदेशमा जान गुन्टा कस्नेहरुलाइ

देशका खलनायक नेताहरुलाई

बिदेशीको ट्रेड मार्क बनाउन चाहनेलाई

नाङ्गे झार लागाउन सक्छौ भने

तिमीलाई स्वागत गर्दछु

नत्र तिमीहरु उतै बस्नु।

 

जन्मदाको साथ साथै रहन्नेसंग

म एक्लै काठमाण्डू भएर बस्ने छु

तिमीहरु आउँनु पर्दैन उतै बस /

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत