तिमी फेरि आऊ!
आऊ छिमेकी तिमी फेरि आऊ!
कि तल्लाघरे आऊ!
कि फेरि माथ्लाघरे नै आऊ!
हाम्रो घरको जुँगाको लडाइँ मिलाउँन आऊ।
हाम्रो घरमा भित्र भित्रै सल्केको
भुसको आगो निभाउँन आऊ!
अचेल तल्लाघरे ठूल्दाजुलाई अलि सञ्चो छैन ।
माथ्लाघरे त अलि तङ्ग्रीसकेका छौ
त्यसैले तिमी नै आऊ!
अलि चनाखो तिमीले नै हुनु पर्ने भो!
किनकि दन्किरहेको ज्वाला माथि तिरै जाने हो ।
त्यसैले अब आफ्नै घर जोगाउँन भए पनि आऊ!
आउन त अस्ति आएर
भुसले छोपेर गयौ!
निभ्यो होला भनेर ढुक्क भयौ!
आगो भित्र भित्रै सल्किरहेको छ
हिजो फेरि झिल्का देखियो!
पोल्ला भन्ने डरले
सल्लाह गर्दा गर्दै काकाबा
जुरुक्क उठेर बर्बराउँदै हिंडे ।
आजकाल काकाको हलम लडेको छ!
खै किन हो? तै पनि तुजुक बढेको छ! !
काकाको तुजुक छिचिमिराको पखेटा नबनोस्!
त्यसैले विन्ती छ छिमेकी तिमी फेरि आऊ!
अब भुस हैन
कि मट्टितेल कि पानी लिएर आऊ!
कि जलाएर खरानी बनाऊ !
कि आगो निभाऊ!
पोलेको घाउमा मलम लगाऊ!!



