बुध्द अनि फुल

- प्रेम राई परिक्षित


कविता: बुद्ध अनि फूल
✍️प्रेम राई परीक्षित

आजकल
बुद्ध र फूल
उस्तै उस्तै लाग्छन् मलाई
गुम्बा र फुलबारी
उस्तै उस्तै लाग्छन् मलाई

च्यातिईन्छन् फूलहरु
आक्रोशित कहिल्यै हुदैनन्
चुडिन्छन् फूलहरु
बदला कहिल्यै लिदैनन्
म देख्छु फूलका पत्रपत्रमा
बुद्धका मधुर बाणिहरु
म देख्छु फूलका सुगन्धहरुमा
माने घुमाउदै हिडेका आनिहरु
त्यसैले,
आजकल बुद्ध र फूलहरु
उस्तै उस्तै लाग्छन् मलाई
गुम्बा र फूलबारी
उस्तै उस्तै लाग्छन् मलाई

कुल्चिइरहन्छन् फुलहरु
तर झगडा कहिल्यै गर्दैनन्
चिथोरी रहन्छन् भमरा शान्त फूलहरु
तर गुनासो कहिल्यै गर्दैनन्
म देख्छु फूलका परागहरुमा
बोधिका शितल दानाहरु
म देख्छु फूलका बोटहरुमा
त्रीपिटकका जिवन्त पानाहरु
त्यसैले,
आजकल बुद्ध र फुलहरु
उस्तै उस्तै लाग्छन् मलाई
बौध बिहार र फुलबारी
उस्तै उस्तै लाग्छन् मलाई

मान्छेहरु
चुडिरहन्छन् निर्दोष फूलहरु
प्रतिकार कहिल्यै गर्दैनन् फूलहरु
बन्धक बनाईन्छन् फूलहरु
पूजाका थालिहरुमा
अनि मान्छेका गलाहरुमा
रीस कहिल्यै पोख्दैनन् फूलहरु

फुलिरहन्छन् उस्तै रङ्गमा फूलहरु
मग्मगाई रहन्छन् उही सुगन्धमा फूलहरु
म देख्छु फूलका हर पातहरुमा
बुद्धका ज्योतिर्मय अाँखाहरु
म देख्छु हर फूलबारीहरुमा
कुशिनगर अनि बोधगयाहरु

  1. त्यसैले,
    आजकल बुद्ध र फूलहरु
    उस्तै उस्तै लाग्छन् मलाई
    गुम्बा र फूलबारीहरु
    उस्तै उस्तै लाग्छन् मलाई

    माहुरीको भुन्भुनाहट र ॐमाने पेमे हूँ उस्तै उस्तै लाग्छन मलाई!!

यसमा तपाइको मत