कविता: वारापार
कृष्णदेव
सैयौं द्वारहरू सजाएर
गर्नुपरेको छ वारापार
पाले पहराका साथ
हाम्रा छोरीज्वाईहरू
हाम्रा छोराबुहारीहरू ।
खुला खेतहरूबाट त
छिर्न सक्छन् जुरे गोरूहरू
घना जंगलहरूबाट त
छिर्न सक्छन् हिंस्रक बाघहरू
लामा नदीहरूबाट त
छिर्न सक्छन् सर्प र गोहीहरू ।
आऊ बनाउँ शिला बन्देज
हाम्रा खुला खेतहरूमा
हाम्रा घना जंगलहरूमा
आऊ बनाउँ जालीझैं बन्देज
हाम्रा लामा नदीहरूमा ।
हिम्मत गर मुखियाजी
डटेर श्रमदान गरौंला हामी
खुलेर धनदान गरौँला हामी
तिमी होस्टे मात्र त भनिदेऊ
जोडजोडले हैंसे गरौंला हामी ।
बेरोकतोक आवतजावत गर्ने
ती लामालामा लस्कर रोक्नु छ
रातविरात वारापार गर्ने
ती देशघाती तस्कर रोक्नु छ ।
आऊ सत्ता जनताको मनमा आऊ
आऊ प्रतिसत्ता सत्ताको साथ आऊ
सैयौँ द्वारहरू सजाएर गरौं हामी
निश्छल निश्कपट हामी वारापार ।।
##########!!!!!!



