हराएको सहयात्री

- बिमला कार्की


..!!
– हराएको सहयात्री .✍️

छातीमा भय बालेर- बाहिर होश खोज्दै
मनमा कायर पालेर – बाहिर जोश खोज्दै

यहाँ –
हरेक रातका बेरुजु सपनाहरु लिएर-
चुपचाप आफैंसंग प्रतिवाद गर्दछन्
हिजो आज मेरा अक्षरहरु ।

हो- हराएको छ – मेरो सहयात्री
जस्ले नदिसम्म लिएर जान्थ्यो र
मलाई पौडिन सिकाउँथ्यो।

तर –
अझै विवादमा छन् मेरा – आशा र विश्वासहरु ।
अहिलेपनि उस्का शब्दहरु गुन्जदै
नौनी झैँ बिलाइ रहेछन् – म भित्र ।

ऊ
मेरो बिरु –
पानीका चापबाट बिजुली बाल्न सक्ने मान्छे
सुर्यका तापबाट आगो निकाल्न सक्ने मान्छे
नारीलाई पुरुष – पुरुषलाई नारी

अनि
माटोलाई ढुंगा र ढुंगालाई देवता
बनाउन सक्ने मान्छे ।

खै –
अरु के के बनाउन सक्ने मान्छे हो – ऊ
म भित्र भएका स्मृति क्रमशः मेटिदै छन्

र पनि
खयालमा लामो संघर्ष र वेदना बिर्सिएर
असजिलो खुसी हाँसीरहन सक्ने मान्छे हो- ऊ ।

हो – हराएको छ मेरो सहयात्री
जस्ले नदिसम्म लिएर जान्थ्यो र
मलाई पौडिन सिकाउँथ्यो ।

सभ्य राज्यको नाममा अपराध पचाउन नसक्ने
उल्टो प्रथा – अन्धो कानुन- षड्यन्त्रमा –
अर्को निर्दोष फसाउँन नसक्ने

अनि –
संरक्षणको नाममा शोषक र –
रक्षकको नाममा भक्षक बचाउँन नसक्ने मान्छे – ऊ ।

किन परिनन् भागमा हामीलाई – बादल बिचको त्यो –
बाटुलो जुन झैँ उज्याली हाम्रै आमा ?

अराजक बन्दुकका नाल अगाडि
मनभित्र असंख्य असन्तुष्ट बोकि –
छाती तन्काएर सुस्तामा –
मात्र मरेर – तिमी – मुक्ति कहाँ होलिन् र हाम्री आमा ।

त्यसैले –
मैले हिँड्न छाडेका बाटा र -ति थुप्रै साँगुरा
गल्लीहरु छिचोल्दै
मेरा आँखाभरी अटाउँने मेरी नेपाल आमाले
खोज्न थालेकी छिन् रे – हिजो आज

निकम्मा सरकारको हराएको न्याय र छिमेकी हस्तक्षेप विरुद्ध
बिद्रोहका मेरा अक्षरहरु ..!!!

यसमा तपाइको मत