
नयाँ बिन्दुमा
नयाँ पाइला टेकेको छु
मरुभूमिको यात्रा सँपन्न गरेर
जँगलको छेउमा आइपुगेको छु
ठीक यसैबेला
फूलबाट चट्टानमा ओर्लेको थिएँ पहिलो पाइलामा
चट्टानहरू चपाएँ
चट्टान र फलाम पगालेर फूल फूलाएँ
अब नयाँ बाटो खन्दैछु
चट्टान ,हिमाल ,सागर र आगोमा
जस्तोसुकै चट्याँगले पनि
मेरो बेगलाई रोक्न सक्ने छैन
यु टर्न होइन
मिसाइलको बेगमा बढनेछ
अबको गति
समय बिताउँन होइन
सँसारको चहकिलो आँखा बनाउँन
जीवन अनवरत तिखार्दै
यहाँ आइपुगेको छु
कहिले पुगिन्छ थाहा छैन
गन्तब्य नभेटुन्जेल बाटोभरि
हरेक दिन होस् या रात
ज्योतिको सागर फैलाइरहन्छु
यहाँसम्म आइपुग्दा
टेकेका हरेक पाइलाहरूले
र ,भेटेका प्रिय मान्छेहरूले
चपाएनन् मेरो समय
बरू दिए मीठो साथ
धर्ति र मान्छेको अझै धेरै आशा छ मसँग
अब मैले निचोर्ने आगो सँगालेर
नयाँ सूर्यनदी खेलाऊ भन्ने घोषणा गर्छु
यो जीवनभन्दा अगाडि मेरो जीवन थिएन
यो जीवन पछाडि मेरो अर्को जीवन हुने छैन
जीवन छ र त भेट छ यो सारा संसारसँग
सँयोगवस भेटिएको जीवनको लयलाई
म हरेकक्षण उमँगका मूर्च्छना भर्छु
आगोको भुँग्रोमा
सपनाका फिलिँगाहरू पगालेर
बिश्वासको हिमनदी बगाउँदैछु
यात्रा असाध्यै मीठो लागिरहेछ
-२०७७ जेठ १८ गते आइतबार
ग्वँग:बुँ,नयाँ बसपार्क



