
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ३ । पुष्कर अथक रेग्मी ।
झ्याउरे गीत ….
——————————————–
राम्रै छ रूप राम्रै छ बोली राम्रै छ चरित्र
मोहनी माँया स्वर्गकी परी हृदय पवित्र
गुलाफी अोठ मुस्कान प्यार मुहारै खुलेकी
हातले छोपी भाकाले बोली लाजले झुलेकी
गालामा अाहा ल्वाङ्फुले कोठी क्या राम्री खुलेकी
सुन्केस्रा सरी नाग्वेली पारी केश लि झुलेकी
नयन भरी सुन्दर डाली गुराँस फुल्दछ
निधार भरी जुल्फीनै खेली पवन झुल्दछ
शंखका जस्ता दाँत लि तिमी मुसुक्क हाँसेको
इन्द्रेणी स्यूँदो भर्दछु मैले तिमीले साँचेको
अपूर्व प्राप्ति पाउन भनी नजर डुलाएँ
उर्वशी रंभा तिमीनै रै छौ यो मन भुलाएँ
दिनमा भोकै हिडछु संझी लागेर अतास
रातमा निन्द्रा नलागी मन्मा चल्दछ बतास
तस्बिर तिम्रो दिलले खिंची मनमा राख्याछु
जिउने मर्ने संसंगै भनी ईश्वर भाक्याछु
चोखो त्यो माँया नपाए सम्म मन यो चन्चल
अन्ततः हाम्रो मिलन हुन्छ सदैव पल्पल
राम्रै छ रूप राम्रै छ बोली राम्रै छ चरित्र
मोहनी माँया स्वर्गकी परी हृदय पवित्र ।
पुष्कर अथक रेग्मी
तानसेन, पाल्पा



