
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १९ । शिव शर्मा ।
कोरोना कहर
—————–
के आयो आयो संसारभरि कोरोना नामको ।
खोसेर लग्यो काखको नानी बाबाको आमाको।
कतै छ पीडा बालख नानी टुहुरा बनायो ।
फलेको हाँगो चिचिला माथि असिना खन्यायो।
मसान जस्तै भएछ बस्ती लाग्दैछ उराठ ।
भोक र शोक झुपडी भित्र सुनिन्छ विलाप ।
के थाहा कस्लाई कहाँको जीवन कहाँको मरण
झुकेको शिर गालाको भीर आँसुको झरना।
सकेन भन्न तेरो न मेरो ठूला न सानाले।
पाएन बाटो धरतीभरि आँसुको दानाले ।
मुटुको टुक्रा चुँडियो खस्यो बिलायो भूमिमा ।
मानव चोला अब के होला यो प्यारो धर्तीमा।
बन्द छ बाटो शहर बजार घाट र चौतारी ।
कालको भाइ सरीको भयो हितको दौँतरी ।
रोगको बाटो ढुङ्गा न माटो न हुन्छ डगर ।
डरको आँधी उँडेर मनमा ढाकिन्छ सगर ।
बैसको राग धनको फूर्ति अमान चेतना ।
मृत्युको डर अघि के छ र सल्कियो बेदना ।
निरीह प्राणी बसेका हामी एकान्त बासमा
लागेको बादल फाटेर जाने सुनौलो आशामा।
शिव शर्मा,
काठमाडौ



