कविता / म को हुँ ??

- दुर्गा किरण तिवारी


कविता / म को हुँ ??

जीवनका रङ्गमञ्चमा
उत्तर खोज्छु
मैले भोगेका कैयौँ अभिनयहरूसँग
मैले भेटेका कैयौं पात्रहरूसँग
मैले रोजेका कैयौं रहरहरूसँग
मैले बिताएका कैयौं प्रहरसँग र
हिजो र आजको यो समयसँग
हो म बारम्बार प्रश्न गर्छु
अनि म आफैँसँग प्रश्न गर्छु
आखिर म को हुँ ?

अन्तर चक्षुमा आन्दोलित भएर
मडारिएका छन् आलोडित भावनाहरू
ठोक्किएका छन् पहराहरूमा अनवरत
रहस्यको सार खोज्दै
भीषण गङ्गाका छालहरू जस्तै ।

कैयौँ अभिनयहरू भए
कैयौँ पात्रहरू र रङ्गमञ्च फेरिए
कैयौं कथाहरू फेरिए
सिङ्गो जीवन फेरियो
म मेरै ‘म’ हुनुको संरचना खोजिरहेछु
मस्तिष्कमा एउटा भयानक हुरी चल्छ
उद्वेगको पराकाष्ठा नाघ्ने गरी ।

म शाश्वत सिङ्गो चित्रको खोजीमा छु
सृष्टिको निर्वाणको खोजीमा छु
मेरो औचित्य के हो
प्रकृतिको माझ
म हुनुको प्रयोजन पहिचान गर्दै
समग्रमा त्यसको मर्म सम्प्रेषण गर्न खोज्दै छु
त्यसैले म स्वयंकै संवेदना खोतल्दै छु
अचेतनका कुनाकन्दरा छाम्दै छु
र म अझै उत्तर खोजिरहेछु
आखिर म को हुँ ?

यसमा तपाइको मत