
स्रष्टा परिचय- पिता लक्ष्मण शर्मा पाैडेल र माता मिना शर्मा पाैडेलकाे सन्तानकाे रूपमा बि.सं २०३८ पुस १२ गते चितवनकाे मेघाैलीमा जन्मनु भएकी रचना शर्मा पाैडेलले आइ.ए. सम्मकाे अध्ययन गर्नुभएकाे छ। २०७६ सालकाे कुसे अाैसीकाे दिन “फादर्ज डे” शिर्षककाे लघुकथा लेखेर लखुकथा बिधामा प्रवेश गर्नुभएकी रचना शर्मा जी ले त्यस भन्दा अघि गजल, मुक्तक र कविता लेख्दै अाउनु भएकाे थियाे। उहाँका रचनाहरू सामाजिक संञ्जालमा हामीले पढ्दै अाएका छाै। पछिल्लाे समय लघुकथा पाठशाला, लघुकथा कुनाे र अाधुनिक नेपाली लघुकथा पेजमा समेत शशक्त रूपमा सहभागी जनाई रहनु भएकाे छ। अाधुनिक नेपाली लघुकथा पेजकाे एडमिन समेत रहनु भएकी शर्मा जी ले अभिनयमा लघुकथा वाचन गर्दै लघुकथाकार शर्माले अाम पाठककाे लघुकथाप्रतिकाे रुचि बढाउदै अाउनु भएकाे छ।हाल चितवन नारायणगढ मा श्रीमान छाेरा ,छाेरी सहित स्थाई बसाेबास गर्दै अाउनु भएकी रचना शर्मा पाैडेलकाे ज्यूकाे साहित्यिक क्षेत्रमा सफल्ता र प्रगतिकाे शुभकामना ब्यक्त गर्दै उहाँद्वारा लिखित लघुकथा ” पशुकाे अात्माकथा” पाठक सामु पेश गरेकी छु।
लघुकथा:- पशुका आत्मकथा (दशैं विशेष )
रचना शर्मा
” ” नमरी स्वर्ग देखिन्न ” भन्थे बुढापाकाहरुले ! हो रहेछ ” भन्दै प्राणको आहुती दिएर स्वर्गको काखमा बसेका खसी,बोका, पाडा, राँगा,अनि भेंडा- च्याङ्राका आत्माहरु एक आपसमा गफ गरिरहेका थिए ।
पल्लो साईड्मा भने नर्कको ढोका थियो , जहाँ अक्सर मान्छेहरु नै थिए । स्वर्गबाट पृथ्वीलोकमा आफुहरु पहिला बसेको घरतिर हेरिरहेका थिए ती पशुहरु । दशैंको माहोल थियो । पृथ्वीलोकमा कोही मानिसहरु पिङ खेल्दै , कोही जुवा तास खेल्दै थिए भने कोहि खसी, बोका आदि जनावर काट्दै थिए । रमाउँदै थिए आ आफ्नै तालमा।
गफ गर्ने क्रममा पाडाले दु:ख बिसाउँदै भन्यो – ” यार मलाई त जन्मेको ३ महिना नपुग्दै बेचिदियो मेरो साहुले । आमाको दूध त ५ दिन पनि राम्ररी खान पाइन । बेचेपछी कसाईले काटिहाल्यो नि मलाई । ” पाडाका कुरा सुनेपछि बोकाले पनि
– ” मलाई त झन् देवीलाई चढाउने भनेर मनकामना मन्दिरमा ल्याएर घाँटी रेटी रेटी मारे । माता त आफ्नै सृष्टिको बलि चढ्यो भनेर कति रुनुभयो कति ।” भन्दै आफ्नो पिडा रुँदै व्यक्त गर्यो ।
यो देखेर मलिन अनुहार पार्दै खसीले भन्यो – “अब किन दु:ख मान्छौ र ? मेरो कहानी त झन् नरमाइलो छ । २ महिनामै मलाई खसी पार्नी भनेर मेरो हत्यारा साहुले कम्ती थिचिदियो मेरो लिङ्गमा । ठूलो ढुङ्गोको त्यत्रो बज्र कसरी सहें होला ! त्यो दुष्ट दानव डल्ले साहु भने हामीलाई चराउने निहुँमा कति अबोधहरुलाई बलत्कार गर्यो । अहिले त खुब नेता बन्दै हिंडेको रहेछ । बडा दशैँ नि कुर्न नसकेर चैते दशैंमा नै मलाई ठुन्क्यायो पापीले।” यति भनेपछि उक्त खसीको आत्माले पृथ्वीलोकतिर देखाउँदै फेरि भन्यो -” ऊ हेर त ! आज मेरो भाइको पालो रहेछ । सबै मान्छे कस्तो गिद्दले झैं र्याल चुहाएर घेरेर बसेका मेरो भाइको चोक्टा खानलाई !” खसीको कुरो सुनेर सबैले पृथ्वीलोकमा हेरे ।
यसरी सबैले आ – आफ्नो दुखेसो पोखेर आ- आफ्नो स्थानतिर जान ठिक्क पर्दै थिए । उत्तिखेरै पृथ्वीलोकका २ आत्माहरु आउँदै गरेको देखे । एउटा त्यही खसीको भाइ थियो भने अर्को त डल्ले साहु पो रहेछ ! त्यो डल्लेलाई चाहिँ घिसार्दै नर्कतिर लाँदै थिए यमदुतहरुले । खसी अचम्म परेर भाइलाई सोध्यो- ” अनि डल्ले साहु के भएर आएछ त भाइ ?”
खसीको भाइले भन्यो – ” जब मलाई काटे अनि हत्त न पत्त मेरो गिदि काँचै खाने भनेर मुखमा क्वाप्पै हालेको मात्र के थियो ठाउँको ठाउँमै गयो नि खसी दादा । ”
यो कुरा सुनेर एकमनले खुशी हुँदै सबैले पृथ्वीलोकमा हेरे ।त्यहाँ त डल्ले साहुको मृत शरीरलाई बाँसमा राखेर कात्रोमा बेर्दै थिए । दशैंको आशामा बसेकाहरु दशाको तड्पाइमा रोईरहेका थिए ।



