स्रष्टा परिचय / त्रिलाेचन ढकाल

- प्रस्तुति : तारा के सी


आँधिखाेला गाउँपालीका ६ फापरथुम स्याङ्जामा पिता पण्डित आनन्दमणि ढकाल र माता नन्दकला ढकालकाे सुपुत्रकाे रूपमा २००६ साउन १८ गते जन्मनु भएका त्रिलाेचन ढकाल ज्यू राजनितिज्ञ र साहित्यिक ब्यक्तित्व हुनुहुन्छ । नेपाली राजनितिमा त्रिलाेचन ढकाल नाैलाे नाम हाेइन। लामाे समय नेपाली राजनितिमा सक्रिय हुँदै २०५१ सालमा संसद सदस्य र २०५५मा कृषि मंन्त्री समेत रहनु भएका उहाँ नेपाली साहित्यमा समेत उतिकै सक्रिय रहदै आउनु भएकाे छ।
दजाैनाै संघ संस्थाबाट सम्मान र अभिनन्दन भैसक्नु भएकाेे उहाँले कविता संङ्ग्रह – १ गजल संङ्ग्रह – १ सामाजिक उपन्यास – १ बाल गजल संङ्ग्रह -१ बालकविता संङ्ग्रह – २ बाल उपन्यास – ५ निबन्ध संङ्ग्रह- १ यात्रा वृतान्त -१ यात्रा अनुभूति- १ र थुप्रै राजनिती पुस्तकहरू गरि दुई दर्जन भन्दा बढि कृतिहरू प्रकाशित गरिसक्नु भएकाे छ । विभिन्न पत्रपत्रिकामा सम्पादन समेत गर्नु भएकाेे उहाँले स्वदेशका सबै अञ्चल र सबै जिल्लाहरू घुमी बिदेशका २२ओटा देश समेत भ्रमण गरिसक्नु भएकाे छ। उमेरले ७० काटि सक्नु भएका बहुआयमिक ब्यक्तित्व त्रिलाेचन ढकाल ज्यू! आनन्द आश्रम स्याङ्जामा परिवारकाे साथ रम्दै साहित्यिक ,संस्कृतिक,सामाजिक र राजनीति अध्यन र लेखनमा सक्रिय हुँदै आउनु भएकाे स्रष्टा हुनुहुन्छ । उहाँकाे सु स्वास्थ ,दिर्घ जीवन र सफल्ताकाे कामना गर्दै उहाँले आधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेजअनलाइन डट .कम.बाट पनि आज पाठक सामु पेश गरेकी छु।

लघुकथा

जँड्याहा

त्रिलोचन ढकाल

मलामीहरू उकालो फर्कँदै थिए । स्याँस्याँ र फ्याँफ्याँ गर्दै । बाटोको छेवैमा शव जस्तै गरेर लडेका कमर बहादुर भेटिए । उनले लगाएका कपडामा धुलै धुलो टाँसिएको थियो । भरखर धुलोमाथि कुस्ती खेलेर आए जस्तो । शरीरको केही भागमा घामका ताता किरणहरूले चुमिरहेका देखिन्थे । केही पर काठको लामोलामो एउटा मुढो पछारिएको थियो । छेवैमा बसेर एकजना बालकले बिलौना गरिरहेका थिए_

“भिनाजु उठन !” प्रतिक्रिया आएको थिएन ।

“भिनाजु त मरेछन् ।”
टाउको यता-उता घुमाए बालकले । टाउको जता पल्टायो उतै पल्टेको थियो । अरू प्रतिक्रिया आएको थिएन । यो सबै देखि सकेपछि मलामी हरूले भने_

” म पनि मलामी जाने हो भनेका थिए कमरले ।”

“तपाइ हिड्दै गर्नुस् । म आइहाल्छु भनेका थिए मलाई ।”

“म झर्दै गर्दा भट्टीमा मधुरस पान गर्दै थिए । कति धोके होलान्। यहाँ आएर पछारिएछन् ।”

“शव दाहका निम्ति दाउरो बोकेका होलान् । झ्याम्के पानी पिएपछि आफू यता पछारिएछन् । दाउरो उता सुतेर पेट मिचि मिचि हाँसि रहेको छ ।”

“डढन परेन भनेर होला हाँसेको ।”

बालकले भने बिलौना गरिरहेकै थिए_
“किन हेरेर मात्र कुरा गरेको ? हाम्रा भिनाजुलाई व्युँझाउ न !”

मलामीले भने_
“तिम्रा भिनाजु एक घण्टापछि व्युँझन्छन् ।”

यस्तैमा कमरबहादुर आँखा चिमलेरै बर्बराउन थाले_
“कति आनन्दसँग कमलो ओछ्यानमा सुतेको थिएँ । जँड्याहाहरूले हल्ला गरेर निदाउनै दिएनन् ।”

आनन्दआश्रम, फापरथुम
स्याङ्जा
०७७.७.१

यसमा तपाइको मत