सष्टा परिचय:- प्रेम पुन मगर पिता दिलबहादुर पुन र माता रम्बी पुनकाे काेखबाट २०३० माघ २ गते ढाेरपाटन नगरपालीका ४ झारसाँदी बाग्लुङमा जन्मिएका प्रेम पुन मगर २०१६ देखि लघुकथा बिधामा सक्रिय भई कलम चलाउँदै अाएका युवा लघुकथाकार हुन्। कविता, मुक्तक र दाेहाेरी गीत गायनमा समेत राम्राे दखल भएका प्रेम पुन मगर हाल बैदेशिक राेजगारीकाे क्रममा बिदेशमा बस्दै अाएका छन्। नेपाली भाषा साहित्यलाई अाैधी मन पराउने , माया गर्ने पुन मगर ब्यस्थ समयकाे बाबजुद पनि समय निकालेर लघुकथा लेखनमा सक्रियता देखाई रहेकाछन्। अाधुनिक लघुकथा पेज, लघुकथा पाठशाला र लघुकथा कुनाेमा उनका लघुकथाहरू अाम पाठकहरूले पढ्दै रूचाउँदै अाएका छन्। प्रेम पुन मगर भाइकाे सु स्वास्थ र प्रगतिकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे उनकाे लघुकथालाई खाेज अनलाइन डट कमकाे माध्यमद्वारा पाठक सामु पेश गरेकी छु।
लघुकथा:दु:ख
प्रेम पुन मगर
ढोरपाटन २ बागलुङ
कम्पनीको तलब एकदम थोरै थियो। उसले आजदेखि राति रेस्टुरेन्टमा भाडाँ धुने निधो गर्यो। खर्च चलाउन समस्या परेको थियो। “पार्ट टाइम जव” रहर नभै बाध्यता नै थियो।
-“कति दिनुहुन्छ साहु जी” उसको प्रश्नमा साहुजीले भन्यो।
-” राति चार घण्टा गर्नु पर्छ। पाँचसय दिन्छु महिनाको।”
दिनभरि काम गरेर थकाईले गर्दा काम गर्न एकदम गाह्राे थियो। त्यसैमाथि राति आएर सुत्न ढोका खोल्दा पनि निद्रा बिग्रियो भनेर साथीहरूले गाली गर्थे।
आज बिहान काम जाने तर्खरमा थियो। फोनको रिङटोनले उसको ध्यान तान्यो।
शहरमा बाह्र कक्षाको परीक्षा सकेर बसेको तन्नेरी छोरा उज्ज्वलको रहेछ।
“हेलो! उज्ज्वल बाबू मलाई अलि हतार छ भन् के कति कामले पोन गरिस्। सञ्चै त छस्?” समयाभावको कारणले उसले एकैपटकमा भन्यो।
“दर्शन बुवा! हजुर अलि अलि खर्च चाहिएको थियो…… ।” उसले यति भनेको थियो। छोराको कुरा काट्दै उसले भन्यो।
“ल पर्सीतिर पठाइदिन्छु पीर न ले…. राम्रोसँग पढाइमा ध्यान् दे..।”
साँझमा रेस्टुरेन्टमा साहुलाई भाँडा माझेको पैसा दिन आग्रह गर्यो।
“आज नै महिना पुग्दैछ आजै माग्छौ। कस्तो मान्छे हौ तिमी?” रिसाउदै साहुले पाँचसय दियो।
उसले खुशी हुँदै उक्त पाँचसय छोरालाई पठाइदियो।
“ए हरी! आज खाना रेस्टुरेन्टमा खानु पर्छ है। रुममा नपका। यो भाँडा माझ्न एकदमै दु:ख लाग्छ यार!!”
उज्ज्वलले पैसा निकालिसकेपछि साथीलाई भन्यो।



