स्रष्टा परिचय / लक्ष्मीप्रसाद पाैडेल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता गिरीधारी उपाध्याय र माता भुवनेश्वरी उपाध्यायकाे सन्तानकाे रूपमा बि.सं २०२६ असार २९ गते धवलाधिरी गाउँपालीका – ६ धारापानी म्यादीमा जन्मनु भएका लक्ष्मीप्रसाद पाैडेलले स्नातकसम्मकाे अध्यन गर्नुभएकाे छ। २०४१ सालमा माध्यमिक तहमा अध्यन गर्दा देखिनै साहित्यमा रुचि राख्दै कलम चलाउँदै आउनु भएकाे एक सर्जक हुनुहुन्छ। बिशेषगरि लघुकथा र स्वछन्द कविता लेख्न मन पराउनु हुने कवि/ लघुकथाकार लक्ष्मीप्रसाद पाैडेल ज्यूले अन्य बिधाहरू हाइकु, मुक्तक र कथा, बिधामा पनि कलम चलाइ रहनु भएकाे छ। उहाँद्वारा लेखिएका लघुकथाहरू लघुकथा कुनाे, लघुकथा पाठशाला र अाधुनिक नेपाली लघुकथा पेजमा दैनिक पढ्दै अाएका छाै। आफ्ना सिल्पी ज्ञान खिपेर सुन्दर बुनाेटमा लेखिएका उहाँका लघुकथाहरू विशेष रूपमा अाम पाठकहरूले रूचिका साथ अध्यन गर्दै आउनु भएकाे छ। हाल धनगढी उपनगरपालीका विशालनगर -३ कैलालीमा बसाेवास गर्दै आउनु भएकाे शालीन ब्यक्तित्व कवि/ लघुकथाकार पाैडेल ज्यूकाे अझ साहित्यिक यात्रा नविल कृतिहरू जन्मदै जाउँन्। नेपाली साहित्यकाे याे बिराट भण्डारमा उहाँकाे याेगदान विशेष रहाेस्। हार्दिक शुभकामनाकाे साथै अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे उहाँद्वारा लिखित लघुकथा”निर्णयकाे अस्विकार ” खाेज अनलाइन डट. कम मा पाठकहरू सामु पेश गरेकि छु।

लघुकथाः निर्णयको अस्वीकार
लक्ष्मीप्रसाद पौडेल

“सरकार बनायौं, हामीसँग जनताको बहुमत प्राप्त अधिकार छ, हामीले त धेरै नै केही गरिए जस्तो लाग्छ ” एकजना वरिष्ठ मन्त्रीले आफ्नाहरुसँग कफिगफमा भने ।

“केमु चढाउँदा चढाउँदा खुईलिएको अर्बुद रोगीको कपाल जस्तो बहुमत ! अब कुरा नगर्दा भो माननीय ज्यु ।” रामदास साहुले भने । खोलालाई झोलामा बोक्न मैना दिन पहिले राजधानी छिरेका साहु कोरोनाले थलिए । धन्न मुस्किलले बाँचे । आफ्नै सरकारले पनि ढङ्गको उपचार नगरिदिएको भन्दै निरासाको बीउ छर्दैथिए ।

“तपाईंको गुनासो मन्त्रीज्युले बुझ्नुभएको छ । सबै काम हुन्छ , ढुक्कले जिल्ला जानुभए हुन्छ । ” मन्त्री जिका राजनैतिक सल्लाहकारले आदेशात्मक अनुरोध गरे ।
रामदासले मन्त्रीको मुखमा हेरे । मन्त्री जि आफ्नै सुरमा कफी तानिरहे । “खुकुरीभन्दा कर्द लाग्ने ! बुढापाकाले जानेकै हुन् । ” रामदास हार मान्ने पक्षमा देखिएनन् ।
“यहाँ मेरो मात्र कुरा छैन ! हामीले जिल्लामा जवाफ दिनुपर्छ । हुनेखानेले कोरोनाको जाँच, औषधि, शव व्यवस्थापन आफैं गर्नुपर्ने रे ! निम्न वर्ग, गरीब , असहायको भोटले मात्र चुनाव जितिन्छ ?” उनी बोलिरहे ।
“हुनेखानेले कर तिरेका छन् । चन्दा भरेका छन् । कमिशन बुझाएका छन् । त्यही कर, भरले सरकारले तर मारेको छ । अब बिद्रोह हुन्छ ।”
रामदास यति बोलेर फन्फनिँदै बाहिर निस्किए ।

“कुरो त मनासिव गरें यिनले । हिजोको निर्णय फिर्ता गर्नुपर्यो । प्रस्ताव तयार पार्नुस् शर्मा जि ।” मन्त्रीले पिएलाई आदेश दिए ।

“एकजनाले एकदिनमै हल्लाउने निर्णय के गर्या होला ?” सहभागी एकजनाले भने ।

“निर्णय गरेर फिर्ता लिन सक्नु हाम्रो सरकारको अर्को उपलब्धि हो । ” अर्का सहभागीले कफीको गिलास भुइँमा राख्दै भने ।

२०७७/०७/०३

यसमा तपाइको मत