स्रष्टा परिचय:- पिता बिष्णु प्रसाद उप्रेती र माता इन्दिरा उप्रेतीकाे सुपुत्रीकाे रूपमा २०३० असाेज ६ गते निगुरादिन ७ ताप्लेजुङमा जन्मनु भएकि लघुकथाकार हेमलता उप्रेती ज्यूले अग्रेजीमा एम.एड.सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। हाल उहाँ माध्यमिक तहकाे अग्रेजी शिक्षककाे रूपमा शिक्षण पेशामा अाबद्व हुनुहुन्छ। साहित्य क्षेत्रमा बिशेषगरि लघुकथा बिधामा कलम चलाउदै अाउनु भएकि स्रष्टा हेमलता ज्यूका लघुकथाहरू चाेटिला र बान्की मिलेका पाइन्छन्। सुन्दर प्रकृतिकाे खानी इलाम नगरपालीका ७ मा स्थायी बसाेवास गर्दै अक्षरका खेतिमा रमाउनु भएकि हेमलता ज्यूकाे साहित्यिक प्रगति सु स्वास्थ र दिर्घ जिवनकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट. कम मा प्रकाशित गरेकि छु।
लघुकथाः कपल फोटो च्यालेन्ज
हेमलता उप्रेती
“च्यालेन्ज पो त, चट्ट परेर खिचन । भएन मेकअप । पार्लरमै गराऊ । पैसा छँदैछ क्यारे, किन लोभ गर्नु ? अलेलि खर्च गर्नुपर्छ क्या, मौकामा !”
साथी रुपाको सल्लाहा उचितै लाग्यो नबिनालाई । उनी तुरुन्त पार्लर गइन् ।
श्रीमान घरमा नभए पनि फोटोबाटै आफ्नोसंग जोडेर बनाउँदा हुन्छ भन्ने थाहा थियो । उनी फोटो तयारीमा जुटिन् ।
“कुन कपडा ठीक होला ? जोडी फोटो हो, सारी नै ठीक ।” मनले भनेपछि दराजबाट सारीहरु निकाल्दै, लगाउँदै फोटा खिच्दै गरिंन् । कुनै फोटाले उनको चित्त बुझेन । अनि सोचिन् “ह्या, ऐलेको जमानामा के सारी । कुर्ता नै ठीक ।”
कुर्ताहरु पनि पालैपालो लगाएर फोटा खिचिन् । अँह, अझै कुनै फोटाले मन खाएन । मनले भन्यो, “पेन्टमा कस्तो देखिएला ? बिल्ला हुने हो कि !”
उनले झट्ट रुपालाई सम्झिइन् । “त्यसैलाई सोध्नु पर्यो । सीपालु छ ।” तुरुन्त फोन गरिन् ।
रुपाको आइडिया सही लाग्यो । लेङ्गा । “कमलाले अस्ति तिजमा किनेको दामी छ ।
एकछिन फोटो खिच्न हो, दिन्छे होला ।” फोन गरिन् । उत्तर आयो, “ठीकै छ, दिउँला । भोलि बिहान आऊ है ।”
भोलिपल्ट कमलाकोबाट लेङ्गा ल्याई लगाइन् । ठ्याक्कै मिल्यो । साह्रै सुहायो । तर ऐनामा हेर्दा हिजो पार्लर गई गरेको मेकअप स्वाहा ! आफैलाई धिक्कार्दै भनिन्, “थुक्क मेरो उल्टो बुद्धि, पहिला ड्रेसअप गरेर मेकअप गर्नुपर्ने ।”
फेरि पार्लर गई आएर दर्जनौ फोटा खिचिन् । फोनमा श्रीमानलाई दशबाह्र ओटा अलगअलग कपडा र पोजका फोटा पठाउँन आग्रह गरिंन् । श्रीमानले झर्कदै भने,“ डिउटीमा छु । भोलिसम्ममा पठाउँला ।”
श्रीमानका फोटाहरु आएपछि आफ्नोसँग जोडेर चित्तबुझ्दो फोटो तयार गरिन् ।
तीनदिनदेखि आफ्नो जोडीको सर्वोत्तम् फोटो तयार गर्ने धुनमा लागेकी नविना मुस्कुराइन्, “अबभने चट्टसँग कपल फोटो च्यालेन्जमा पोष्ट गर्नि हो ।”
उनले फेसबुक खोल्दा त फेसवुक भरी बाँदर, कुकुर, बिराला आदिका कार्टुन जोडी बनाई कपल च्यालेन्ज भन्दै हालेका फोटाहरु पो भाइरल भएका रहेछन् !
इलाम नगरपालिका ७
२०७७/ ०७ /१४



