लघुकथाकर राजु क्षत्री अपुरोको जन्म वि.स. २०२९ कार्तिक १९ का दिन कास्की जिल्लाको पोखरा महानगरपालिका, लाहाचोकमा बुद्धिमाया क्षेत्री एवम् डम्बरबहादुर क्षेत्रीका सुपुत्रका रुपमा भएको थियो । उनको पहिलो लघुकथा मलेशियाबाट प्रकाशन हुने श्रमिक यात्रा त्रैमासिकमा २००६, वर्ष १, अंक ३ मा प्रकाशित बाँझो कि बाँझी हो । राजुका लघुकथा कृतिमा मेरा केही लघुकथाहरु (२०६९), भाग्य र कर्म (२०७३), आशाका झिल्का (२०७४), दिमागको बिर्को (२०७६) रहेका छन् । उनले मलेशियामा रहेर विभिन्न विभिन्न सामाजिक–साहित्यिक संघसंस्थामा संलग्न हुनाका साथै पत्रकारिता क्षेत्रमा समेत सक्रियता देखाउनुका साथै आफ्नो गाउँ लाहाचोकको विकासका निमित्त समेत विभिन्न कार्य गरेको पाइन्छ । राजु क्षत्री अपुरो हाल लघुकथा पाठशाला नामक फेसबुक पेजकोे व्यवस्थापक भएर लघुकथाको प्रवद्र्धनमा लागेका छन् । प्रस्तुत छ, लघुकथा स्रष्टा राजु क्षेत्री अपुरोको लघुकथा बोकाको मासु ।
अर्धाङ्गिनीले अनुरोध गर्दै भनिन् ‘ए लुरेका बा ! यो बोइलर कुखुराको मासु खाँदाखाँदै नाक लागिसक्यो । कतै बोका काटेका भए एक दुई किलो मासु लिएर आउनुस् न ।’
‘खै गामघरमा भन्नेबित्तिकै बोका कसले पो काट्छन र ! कि चाडपर्व आउनु पर्छ कि झरी पर्नपर्छ । बरू घरैको थारो बाख्री छ, काटे हुन्न ? आफुलाई चाहिएको राखेर अरु बेचिदिउँला नि ।’ मैले उपाय सुझाएँ ।
‘भो बाख्री त काट्ने होइन । बाख्रीको मासु त पटक्कै मन पर्दैन ।’ उनले बोकाकै मासु खान रुचि गरेको आभास पाएँ ।
‘ल त्यसो भए आज बजारतिर जाने काम छ । दुई दिन जति उतै भुल्छु कि ! फर्किंदा लिएर आउँला नि है त ।’ मैले आश्वस्त पारेँ ।’
………………
‘खै भाइ साहब, दुई किलो बोकाको मासु जोख्नुस् त, कति हो नि किलोको ?’ तराइतिरका जस्ता देखिने मासु व्यापारीलाई मैले मूल्य सोध्दै मासु जोख्न लगाएँ ।
‘एक किलोको आठ सय, दुई किलोको सोह्र सय ।’ उनले मूल्य बताउँदै जोख्न थाले ।
‘दुई किलो लिएपछि पन्ध्र सयमा दिनुस् न ।’ मैले भाउ घटाएँ ।
‘हुँदैन सा’ब, अहिले खसीबोका कति महङ्गो छ । गाउँतिर पनि स्थानीय खसीेबोका पाइन छाडे । बल्लतल्ल हिजो लाहाचोक पुगेर महङ्गो दाममा दुइटा बोका किनेर ल्याएको ।’ उनले मेरो गाउँको नामै तोकेर बोका ल्याएको जनाए ।
अर्धाङगिनीले मासु पकाइन् । कामकाजले लखतरान थिएँ । फ्रेस हुने मुड थियो । अर्धाङ्गिनीको अनुमति लिएर म बियरसित सितन लिएर बसेँ । पिउँदै गर्दा बाहिर खोरतिर नजर परे ।
‘बाख्राहरू खोइ त नि रमा ?’ खोरमा बाख्राहरू नदेखेपछि मैले सोधेँ ।
‘थारो बाख्रो पाल्न गाह्रो भा’थ्यो । हिजो तराइतिरको मान्छे आ’को थियो । राम्रै मुल्य दिएपछि माउ पाठी दुवै बेचिदिएँ ।’
मैले उनलाई हेरेँ । उनी मिठो मुखले थाल चाटिरहेकी थिइन् । मैले मासु व्यापारी र उसको पसलको बोर्ड सम्झिएँ । त्यहाँ उल्लेख थियो ‘यहाँ शुद्ध र ताजा खसीबोकाको मासु सुपथ मुल्यमा पाइन्छ ।’



