बि.सं २०३२ पुस १६ गते याकु – ७ भाेजपुरमा पिता कृष्ण प्रसाद ढकाल र माता राधादेवी ढकालकाे सुपुत्रकाे रूपमा जन्मिनु भएका लघुकथाकार अवतार ढकालले अग्रेजी साहित्यमा एम.ए गर्नुभएकाे छ।हाल शिक्षण पेसामा अावद्ध अवतार ढकाल ज्यू ले साहित्यका बिबिध बिधाहरू लघुकथा, कविता, कथा, गजल, मुक्तक लेखनमा पनि अब्बल रूपमा कलम चलाउदै अाउनु भएका एक सष्टा हुनुहुन्छ। उहाँका गजल, मुक्तक , कविता विभिन्न साहित्यिक पत्रपत्रिका र सामाजिक संञ्जालमा पढ्न पाइन्छ। जीवन र जगतलाई नजिकबाट नियालेर लेखिएका उहाँका कथा कविताहरू जिवन्त हुन्छन्। कल्पनाशिल्ता भन्दा यथार्थमा डुबेर सिर्जना गर्न रूचाउने ढकाल ज्यूकाे कृतिहरू पढ्दा अाफुभित्रै घटेका घटनाहरू पाे हुनकि भन्ने अाभास हुन्छ पढ्ने पाठकहरूलाई। अध्ययन र सिर्जना रम्ने रमाउने लघुकथाकार ढकाल ज्यूका ” संगम सयुक्त गजल संग्रह” र ” नियतिकाे खेल लघुकथा संङ्ग्रह २०७६ मा प्रकाशित कृतिहरू हुन्। अस्थायी रूपमा खैरहनी न. पा. चितवनलाई अाफ्नाे कर्म क्षेत्र बनाउदै अक्षरकाे खेति गर्दै अाउनु भएका स्रष्टा अवतार ढकाल ज्यूकाे अागामी साहित्यिक यात्राकाे सफलता साथै उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे हार्दिक शुभकामना ब्यक्त गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु।
लघुकथा: आस्था ।
__ अवतार ढकाल
प्रशिक्षण कार्यक्रममा करीब पाँच घण्टा बिताएपछी हरिहर बजार घुम्न निस्कियो । घरबाट निस्कनु भन्दा अगाडी श्रीमतीले भनेका केही सामानहरु किन्यो । एउटा सामान्य खाजाघरमा पसेर खाजा खायो । र घरतिर पाइला चाल्न थाल्यो ।
आजको प्रशिक्षण कार्यक्रमका बक्ताको भनाइसँग कम असन्तुष्ट र बढी सन्तुष्ट थियो उ । प्रशिक्षकले कलात्मल तरिकाले उदाहरण सहित धर्म र ईश्वरको विपक्षमा व्याख्या गरेका थिए ।
“धर्म, ईश्वर सब मानिसले बनाएका कुरा हुन । सामन्तहरुले सोझासाझा श्रमजीवीहरुमाथी हुँदै नभएको देउता भन्ने भ्रम थोपरेर दिग्भ्रमित बनाएका हुन ।” उनले भनेका थिए । सहभागीहरुले राखेका प्रश्नहरुको चित्तबुझ्दो जबाफ पनि दिएका थिए ।
बाटोमा हिंडिरहँदा पनि उसलो मनमा दिउँसोको कार्यक्रममा उनले भनेका कुराहरु खेलिरहेका थिए ।
” हो नि हुन त यी मन्दिर, चर्च, गुम्बा आदिको सट्टामा स्कुल , कलेज , अस्पतालहरु बनेका भए?” उसले मनमनै तर्क गर्यो । बर्षौं पछि उसको धर्म र इश्वर प्रतिको आस्था धर्मराएको थियो ।
बजारबाट घरतिर जाँदा बाटामा महादेवको मन्दिर थियो । ओहोरदोहोर गर्दा मन्दिरमा सधैं पस्ने बानी थियो उसको । मन्दिरमा बजेको घण्टीको आवाजले उसको मनमा फेरि अर्कै तरंगको सिर्जना गर्यो ।
मन्दिरको गेटमा पुगेपछी उसका पाइलाहरु रोकिए । भित्र जाने या नजाने भन्नें दोधार भयो । इश्वरप्रतिको उसको आस्था ढलिसकेको थिएन् ।
सधैं सरासर भित्र जाने उसलाई आज कता कता संकोच लाग्यो । ” न दिउँसोको कार्यक्रममा सहभागी कसैले देखिपो हाल्छ कि ?” शङका लाग्यो । कसैले देख्यो भनें भोलिपल्ट उपहासको पात्र बन्नें भयले गाँज्यो । केहिबेर बाहिरतिर चारैतिर आँखा दगुराएपछी उ हतार हतार भित्र पस्यो ।
मन्दिरभित्र पसेपछी केही शान्तिको आभास भयो उसको मनमा । भित्र पनि चारैतिर आँखा लगाउँदै लजाउँदै लाइनमा उभियो । मन्दिरको ढोका छेउमै पुगेपछी अगाडि उभिएका मनिसहरुको गुनासो सुनियो ,” कस्तो मान्छे होला । कतिबेरसम्म ढोगेको हो ? अरु पनि लाइनमा छन भन्नें कस्तो नबुझेको हो? आफ्नै घर जस्तो ?”
“ओइ नकरा ठूलो बडो होला । ” एउटा सानो आवाज ।
” देउता पनि ठुलाबडाका पेवा हुन्छन ? ठुला न सुला……।” विरक्तिएको अर्को असन्तुष्ट आवाज ।
एकछिन पछि ढोकाबाट एकजना भद्र पुरुष निस्किए । उहि दिउँसोका ईश्वर विरोधी प्रशिक्षक ।।



