स्रष्टा परिचय:- पिता शिवशरण लाेहनी र माता गायत्री लाेहनीकाे सुपुत्रकाे रूपमा २०३१ असार १५ गते नुवाकाेटमा जन्मनु भएका स्रष्टा दीपक लाेहनी रेडियाेकर्मी र साहित्यिक पत्रकारकाे रूपमा परिचित नाम हाे। बिधार्थीकाल देखिनै साहित्यमा कलम चलाउदै अाउनु भएका स्रष्टा दीपक लाेहनी ज्यू ले २०४६ सालमै अाफ्नाे पहिलाे रचना प्रकाशन गर्नु भएकाे थियाे। त्यसैगरि उहाँकाे पहिलाे कथा साझा प्रकाशनबाट प्रकाशित गरिमामा २०५१ मा छाँपिएकाे थियाे।
साहित्यका बिबिध पाटाेमा कलम चलाउदै अाउनु भएका दीपक लाेहनी ज्यू का हालसम्म प्रकाशित कृतिहरूमा १. अान्दाेलनमा छट्पटाएका कलमहरू – २०४९ २.असहमतीका पाइलाहरू अाख्यान _ २०५० नेपाल प्रज्ञाप्रतिष्ठानले अायाेजना गरेकाे राष्ट्रिय कविता महाेत्सव २०५६ मा उहाँ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएकाे थियाे भने अन्य संघ संस्थाबाट पनि सम्मानित हुनु भएकाे छ। उहाँ संमलग्न हुनु भएका संघ संस्थाहरू १.रेडियाे अन्नपूर्ण नेपालमा अभिव्यञ्जना साहित्यिक कार्यक्रम प्रस्ताेता २.तीन लघुकथा( फरक दृष्टीमा लघुकथाकाे खाेज) साहित्य पाेष्ट अनलाइन पत्रिका ३. समकालीन नेपाली कथाकाे मासिक बाचन सभा एकादेश संयाेजन। ४.अार्गानिक लाइफ संयाेजन बाताबरणीय जागरण अभियान। ५.काेभिड – १९ लाई उर्जामा रूपान्तरण गर्ने सम्पादन कार्यमा संङ्लग्न । ६ .लघुरचना बिशेषाङ्क शिवपुरी सन्देश ७.समकालीन लघुकथा सम्पादन( प्रेस जाने तयारीमा) हाल मनमैजु काठमाडौंमा स्थायी बसाेवास गर्दै बिबिध संघ संस्थामा रहेर काम गरि नेपाली भाषा साहित्यकाे सेवा गरिरहनु भएका दीपक लाेहनी ज्यूकाे अागामी दिनमा साहित्यिक सफलता सु स्वास्थ दिर्घ जीवनकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु।
लघुकथा
#तिम्रो_बूढो_र_म
दीपक लोहनी
तिम्रो बूढा मेरो घर आउदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ ।
तिमीले भन्यौ – “मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।”
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।
तसर्थ –
याद बल्झाइरहने फोटोफ्रेम हटाएँ ।
टेबुलमा पल्टिरहेको प्रेमील कविताहरू लुकाएं ।
सम्झना टिप्ने डायरी र पेन पन्छाएं ।
भित्तेपात्रो तिमीले नै दिएकी थियौ –
फ्रिजभित्रको क्याटबरी तिमीले नै थमाएकी थियौ –
मोबाइलको चार्जर तिमीले किनिदिएकी थियौ –
सबै लुकाएं ।
केही क्षणपछि तिम्रो बूढा टुप्लुक्क मेरो घर आइपुगे ।
हामी गफियौ ।
पियौ ।
रमायौ ।
३ घण्टापछि उनी फर्किए ।
तिम्रो बूढा फर्किसकेपछि मैले आफूलाई ऐनामा हेरें ।
तिमीले दिएको प्रेम त मेरो अनुहारमा झुण्डिरहेको थियो । त्यो त लुकाउनै बिर्सेछु –
धत् ।
® कुरिलो घर
काठमाडौं ।



