स्रष्टा परिचय:- बि.सं २०२६ भाद्र २२ गते नुवाकाेट जिल्लाकाे तादी – २ मा जन्मनु भएका लघुकथाकार/ कवि कृष्णदेव रिमाल मुलत ब्यङ्ग कविका रूपमा परिचित नाम हाे। नेपाल सरकारकाे बिधुत प्रधिकरणमा कार्यरत रिमाल ज्यू कुशल कार्यक्रम संचालक/ रेडियोकर्मी पनि हुनहुन्छ। मिलनसार , शालीन ब्यक्तित्व रिमाल ज्यूले २०५०सालमा हैटाैडाबाट निस्कने पत्रिका “क्रमश” मा अाफ्नाे पहिलाे कविता प्रकाशन गरेर नेपाली साहित्य कविता बिधामा प्रवेश गर्नु भएकाे थियाे। विभिन्न साहित्यिक संघ संस्थामा सक्रिय साथ सहभागि हुँदै २०७३मा पहिलाे कविता संङ्ग्रह ” अाखरकाे अारन” बिधुत साहित्यिक समाजबाट प्रकाशन भएकाे थियाे। विभिन्न साहित्यिक संघ संस्थाबाट दुई दर्जन भन्दा बढि सम्मान र पुरस्कार पाइसक्नु भएका रिमाल ज्यू बिधुतकर्मी साहित्यिक समाजका अध्यक्ष हुनुहुन्छ। जागीरे जीवनकाे ब्यस्त समयबाट बचेका केही समयहरू साहित्य सिर्जनामा लगाएर साहित्य सेवामा लागिरहनु भएका रिमाल ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नुभएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दछाै।
लघुकथा: जितुवा तिलहरी
— कृष्णदेव रिमाल शब्दसेना
घरधनी भाडा माग्न दैनिक आउँथे । हामी भोलि है साहुजी ! भन्थ्यौं । उनी भोलि चैं बहाना हैन है ! भनेर हिड्थे ।
ती गएपछी हामी एक अर्काको आखामा परिस्थितिको गाम्भिर्यता खोज्थ्यौँ । म गलामा यिनैले लगाइदिएको बिहेको तिलहरी छाम्थें । उनी हुन्न भन्ने इशारामा सुस्तरी मुन्टो हल्लाउँथे र फराकिलो हत्केलो झ्याप्प मेरो छातिमा राख्थे ता कि त्यो तिलहरी छोपियोस् । नउम्कियोस् ।
उनी स्वयम्बरमा मैले लाइदिएको औँठी छाम्थे । म उसैगरी नकार भावमा सुस्तरी मुन्टो हल्लाउँथेँ र च्याप्प खसमको त्यो पहेंलो खोल भएको औँलो समात्थें । उसैगरी त्यो औँठी नफुत्कियोस् भन्ने कामना गर्थें । हाम्रा यी कामनाहरू बिस्तारै झुट सावित हुँदै गए। केही महिनाका पाहुना बनेर हाम्रो डेरा कोठाबाट एक एक गरेर ती आभुषणहरू उहीँ पुगे जहाँबाट खरिद गरिएको थियो । देह छोडेर आत्मा उही परमात्मामा मिल्न गएजस्तै लाग्यो । धातुको संसारमा पनि नदी सागरतिरै बग्दो रहेछ ।
अचेल हामी दुवै काम गर्छौं ।दुवै सन्तान राम्रोसँग पढिरहेका छन् । हाम्रो छाप्रोमा घरधनी भाडा माग्न आउँदैन् । सग र सिस्नु भएपनी आनन्दी मनले खान्छौँ ।
आज हाम्रो विवाहको विसौं उत्सव । मैले वर्षौंदेखी बचाएको सानो रकमबाट उनको औँलो उसैगरी सजाउने बिचार गरेर बनाएकी छु । राती सुतेको बेला धागोको नापो लिएर सम्झेसम्म बिहेमा बनाएकै डिजाइनमा औँठी बनाएर ल्याएको छु । भरे वहाँ अफिसबाट आएपछी सरप्राइज दिने बिचार गरेकी छु ।
नभन्दै आज अलि चाँडै आउनुभो । आउनासाथ आँखा चिम्ल त भनेर गलामा केही लाइदिनुभो । अहो म पो पछि परेछु ।



