वन्दना घिमिरेको जन्म सर्लाही जिल्लाका लालबन्दी ९ मा आमा लक्ष्मी घिमिरे एवम् बुवा बद्रीप्रसाद घिमिरेका सुपुत्रीका रुपमा भएको थियो । उनले शैक्षिक योजना र व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । उनी हाल महेन्द्र शान्ति माध्यमिक विद्यालयमा सुर्यविनायक—२, बालकोटमा माध्यमिक तहको शिक्षिका रहेकी छिन् । लघुकथा लेखनमा सक्रिय भएर लागेकी बन्दना घिमिरेका लघुकथा यसपटक खोज अनलाइनमा राखेका छौ ः
लघुकथा : अाैषधी
बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर
” दिदी, हजुरले थाह पाउनु भयाे । गुर्जाे त काेराेनाकाे अाैषधि रे नि त, त्यसलाई पकाएर कागती हालेर खानु पर्छ रे । ”
” ए ! हाे ! त्याे त बारीमै छ नि, अाजैबाट काटेर ल्याउछु र बेलुकी भिजाएर राख्छु । बिहान – बिहान सधैं पकाएर एउटा कागती राखेर खान्छु ।”
“भाउजू, बेसार पानी पकाएर खानु पर्छ रे, काेराेना त लाग्दैन रे, मैले हिजाे भाषणमै सुनेकाे ।”
“हाे नानी, जाबाे बेसार त जति खाएपनि छदै छ नि! अामाले पठाईदिनु भाकाे अाफ्नै घरकाे ।”
” काकी, त्याे छ नि, घिउ कुमारी त्यसले त राेग प्रतिराेधी क्षमता नि बढाउछ रे, छाला पनि चाउरी पर्दैन रे, सधै जवान पाे देखिदाे रहेछ । अलिअलि तिताे चाहिँ हुदाे रहेछ ।”
” हाे, छाेरी त्याे घिउ कुमारी त तेराे काकाले प्रेसर काे राेगीलाई राम्रो गर्छ भनेर सधै खाइसिन्छ । ए कुराे त्यसाे पाे रहेछ । जवान देखिन, भाेलि बाट म पनि खानु पर्याे ।”
” माइजू, हजुरकाे घुडाँ दुखेकाे ठिक भाे ? मैले त मेथि र ज्वानाे भुटेर पिसेर राखेर सधै सुत्ने बेलामा खाकाे ठिक भयाे। हजुर पनि भुटेर पिसेर एउटा बट्टामा राखिस्याे र राति राति सुत्ने बेलामा खाइस्याे न यस्तो काेराेनाकाे बेलामा अस्पताल के जानु ।”
“हस भान्जी, त्यसै गर्नेछु । यस्तोमा के अस्पताल जानु ।”
सबैकाे सल्लाह मानेर गुर्जाे, कागती, बेसार, घ्यु कुमारी ,मेथी ज्वानाे अरु के के हाे बिहान देखि बेलुकी सम्म मिलाई मिलाई खाएकी अप्सरा के भएर हाे कुन्नि भात पकाउदा पकाउदै भान्सामै लडिरहेकी रहिछन । अफिस जान खाना खानु पर्याे भन्दै भान्सामा जाँदा त बुढी लडिरहेकी ।
हतार हतार एम्बुलेन्स बाेलाएर अस्पताल पुर्याए बुढाले । इमर्जेन्सी मा डाक्टरले जाच्दै भने “प्रेसर लाे छ तुरुन्तै स्लाईन चढाउनु पर्छ । रगत जाच्नु पर्छ । ”
रगतकाे रिपोर्ट हेरेर डाक्टरले भने “सुगर धेरै कम छ । भर्ना गर्नुपर्छ ।”
२ दिन अस्पताल बसेर एक पाेकाे अाैषधी सहित घर अाईन अप्सरा ।



