स्रष्टा परिचय:- पिता रामप्रसाद चाैलागाईँ र माता निरमाया चाैलागाईँकाे सुपुत्रकाे रूपमा बि.सं. २०३१ बैषाक १६ गते भीमेश्वर न. पा. – ४ दाेलखामा जन्मनु भएका स्रष्टा रामजी चाैलागाईँले नेपाली बिषयमा एमएड सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। हाल उहाँ सर्व मा.वी भीमेश्वर न. पा.- ४ दाेलखामा शिक्षण पेशामा अावद्ध हुनुहुन्छ। विभिन्न पत्रपत्रिकाहरूमा फुटकर कविता/ लघुकथाहरू प्रकाशित हुँदै अाएका छन् उहाँका। कृतिकाे रूपमा उहाँले ” मन्त्रीकाे जुत्ता” लघुकथा संङ्ग्रह प्रकाशित गरिसक्नु भएकाे छ। लघुकथाकार रामजी चाैलागाईँ ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा:महत्त्व
रामजी चौलागाईं
आफ्नी छोरीको एसइईकाे नतिजा प्रकाशन भएको दिन अन्तरीले खुशी हुँदै भनिन्,”मसली,तिमी मलाई जहिल्यै छोरीलाई घरको कामधन्दा र दाउरा घाँस गर्न लगाउँछ्याै।छोरी पास हुन गाह्रो छ भन्थ्यौ।खै त पास भएरै छोडी त।खाने मुखलाई जुँगाले छेक्यो र?त्यही पनि विशिष्ट श्रेणीमा।
मसलीले ओठ फिस्स पार्दै भनिन्,”भो…भो…धेरै गफ नगर।यसपालिको एसइईकाे रिजल्ट कुकुरको पुच्छरमा पनि झुन्डिएको छ।कोरोना र लकडाउनका कारणले कलमै नचोबी रिजल्ट आयो।तिम्री छोरीको त तालुमा आलु फलेछन् यसपालि ,बुझ्यौ?पोहोर मेरी छोरीका पालामा कस्तो….।तिम्रा आमाछोरीको त भाग्यै ठूलो ।”
खुशीले चुलिएको उनको मन खिन्न भयो।फेरि त्यही मन सम्हाल्दै उनले भनिन्,”त्यो पनि सरकारी निर्णय ।यो पनि सरकारी निर्णय ।आन्तरिक परीक्षा त दिएकै हो नि।त्यही चिज आफ्नो सुन अर्काको पित्तल नसोच,मसली।यस्तो बानी ठिक होइन।त्यसोभए तिम्री छोरीको सर्टिफिकेटको महत्त्व हुने,मेरी छोरीको सर्टिफिकेटको महत्त्व नहुने हो र?”
ठेगाना :भीमेश्वर न.पा.४,दोलखा



