स्रष्टा परिचय / भावकेशर बराल

- प्रस्तुति : तारा के सी


लघुकथाकार भावकेशर बरालको जन्म बासेश्वर–८, घोक्सिला, सिन्धुली÷गोलन्जोर–६, सिन्धुलीमा कर्मकुमारी बराल एवम् कृष्णमुरारी बरालका सुपुत्रका रुपमा २०३५ असार २२ मा भएको थियो । बरालले लेखन, अनुसन्धानको साथै प्राध्यापन क्षेत्रमा आफ््नो सक्रियता देखाएको पाइन्छ । उनले एम.ए (नेपाली), बिएड (नेपाली) एवम् बिएल सम्मको अध्ययन गरेको पाइन्छ । भावकेशर बरालका प्रकाशित कृतिमा रहस्यमय खेती (२०६७, बालकथा सङ्ग्रह), रामायण भजनमाला (२०६९, भजनकाव्य), सेतो घोडा र कविताको देश, (२०७२, कविता सङ्ग्रहको सम्पादन), कुलचन्द्र कोइराला ः एक व्यक्ति अनेक आयाम (२०७७, समालोचना) रहेका छन् । उनले सम्पादन गरेका पत्रपत्रिकामा प्रज्वलित द्वीप, साहित्य वाटिका भित्ते पत्रिकाको सम्पादक, दी बड, ए लए विद्यालय मुखपत्र, सम्पादक सदस्य, दीपक, पूर्णाङ्क ३ मुखपत्र, कुलचन्द्र स्मृति प्रतिष्ठान, सम्पादक सदस्य, रजहाँस, अनुसन्धानमूलक पत्रिका, बानेश्वर क्याम्पस, सहायक सम्पादक, चिचिला, बाल मासिक, प्रतिनिधि सम्पादक, नवतारा, बाल मासिक, प्रतिनिधि सम्पादक रहेका छन् । उनले पाठ्यपुस्तकका पुस्तक प्रकाशनका साथै विभिन्न साहित्यिक संघससंस्थामा रहेर कार्य गरेको पाइन्छ । आज हामीले लघुकथा लेखनमा सक्रिय भावकेशर बरालको लघुकथा आजको अंकमा प्रकाशित गरेका छौं ।

राजीनामा
–भावकेशर बराल
—————————–
ऊ जे गर्छ त्यसलाई समाजले पेसा नै ठान्दैन । ऊ भने समाज परिवर्तनका लागि आफू पेसारत ठान्छ । बाआमा ऊ बरालिएकामा चिन्तित छन्, श्रीमती आक्रोशित । ‘यस्ता नामर्द र हरिलठ्ठकसित कसरी जुनी काट्नु ?’ श्रीमतीको आक्रोश । ‘बुढेसकालको सहारा आफैँ बेसहारा बन्ने पो हो कि ?’ बाआमाको चिन्ता । ‘बाबा कहिल्यै घुमाउन लैजानुहुन्न !’ छोरीको गुनासो । ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो, जीवन सोचेजस्तो कहिल्यै हुँदोरहेनछ’ उसको निष्कर्ष ।

सखारै उठेर उसैले बाल्यो चुलोमा आगो । पहिले ततायो दुई गिलास दुध, थमायो छोरी र बाको हातमा । अनि उमाल्यो दुई कप पानी, मिसायो दुई कप नै दुध र बनायो चिया । पुर्यायो श्रीमतीको ओच्छ्यानमा । एउटा गिलास आफूलाई छुट्याएपछि पुग्यो बाआमाको कोठामा । एकाबिहानै उसले सबैको अनुहारमा बेखुसी पढ्यो । चिया पिउँदै गर्दा उसको मानसपटलमा आजको कार्यतालिका दौडियो, ‘बिहान सात बजे साहित्य समाजको बैठक, नौँ बजे वागमती सफाइ अभियान, एघार बजे जागरण युवा क्लबको र्याली, एक बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन, तीन बजे कोठे कविगोष्ठी, पाँच बजे राष्ट्रिय प्रतिभा अभिनन्दन, बेलुका छ बजे पूर्वविद्यार्थी समाजको भेटघाट र आठ बजे लगौँटिया साथी रमेशको बर्थडे पाटी । उफ् ! प्रत्येक दिन यस्तै तालिका बोकेर झुल्किन्छ पूर्वतिरको आकाशमा सूर्य ।’

मर्निङवाकमा दौडँदै गर्दा रन्थनायो उसको मस्तिष्क । सिनेमाको रिल घुमेझैँ उसको आँखामा फनफनी घुम्न थाले दृश्यहरू । घुम्दाघुम्दै टक्क अडिन्थ्यो श्रीमतीको असन्तुष्ट अनुहार । एकसाथ सल्बलाउन थाल्थे सामाजिक सम्बन्धका यावत् भूमिकाहरू । उसले अचानक् सारा सामाजिक सम्बन्धबाट अलग हुने निर्णय गर्यो । मनमनै तयार पारेर राजीनामा घन्टौँ झोक्रायो गुलावी पार्कको एकान्त कुनामा । कुनै बोझिलो भारी बिसाएपछि फुर्तिलो बनेको शरीरजस्तै उत्साहित भएर घरमा पुग्यो । त्यहाँ श्रीमती थिइनन् । भात पनि पाकेको थिएन, भान्सामा । वृद्ध बाआमा र नाबालक छोरी टोलाएर बसेका थिए । ओच्छ्यानको शिरानीमाथि एकथान कागज फर्फराइरहेको थियो । जसमा लेखिएको थियो, ‘आजको प्रभाती किरणदेखि लागु हुनेगरी तिमीसितको सम्बन्धबाट राजीनामा दिएकी छु, उप्रान्त खोज्ने कष्ट नगर्नू ।’

सम्पर्क ः ९८४१३९१७१८

यसमा तपाइको मत