खेमराज पोखरेलको जन्म वि.स.२०१३ भदौ ३ सप्तरी जिल्लाको साविक रुपनगर २, हालको कञ्चनरुप नगरपालिका–१२,बस्तीपुरमा दुर्गादेवी पोखरेल एवम् उद्धवप्रसाद पोखरेलका सुपुत्रका रुपमा भएको थियो । उनले लामो समय प्राध्यापन सेवामा कार्यरत रहेर हाल अवकाशप्राप्त जीवन बिताइरहेका छन् । हाल उनको बसोबास अमेरिकामा रहेको छ । उनका पहिला प्रकाशित लघुकथा रत्यौली, ठूली कान्छी, झगडा, कलेजको पिउन सुलेख मासिकको वर्ष ५, पूर्णाङ्क ४४, २०७३ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म प्रकाशित पाँच लघुकथा कृतिमा पछ्यौरीको आइसक्रिम (२०७३), दह्रो लौरो (२०७३), सिमानामा आमा (२०७५), राम शाहको चौतारो (२०७५), ईश्वरको मृत्यु (२०७६) रहेका छन् । यसबाहेक यिनले मोलुङ (२०७३) एवम् मदुस (२०७६) लघुकथा सङ्ग्रहको सम्पादन समेत गरेको पाइन्छ । यिनको उनको डल्लो (२०७३) कथा कृति समेत प्रकाशित छ । पोखरेलले वि.स. २०७३ सालमा गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेका थिए । उनी लघुकथा कुनो नामक फेसबुक पत्रिकाका सञ्चालक समेत हुन् ।
लघुकथा ः हिसाब–किताब
खेमराज पोखरेल
ती दाइ सफल मान्छेको उदाहरण थिए । तर आज उनी एक्लै बर्बराइरहेका थिए –
– साला जिन्दगी, केटाकेटी हुँदा निस्वार्थ आमाको दसधारा दूधको पनि मूल्य तोकेर मलाई भनियो ‘तैँले यो मातृ–ऋण चुकाउनु पर्छ ।’
– साला जिन्दगी, बुवाले त हिसाबकिताब देखाएरै हाकाहाकी भन्नु हुन्थ्यो – ‘मेरो छोरोले ऋण तिर्छ ।’
– लौरो लिएका यमराज गुरु पनि मलाई भन्थे –‘स्यावास, यसले हाम्रो स्कुलको नाक राख्छ । गुरु–ऋण तिर्छे ।’
साथीभाइ दोस्तीको हिसाबकिताब गरेर भन्थे – ‘पढूवा छस्, ठूलो मान्छे हुन्छस्, धनी पनि हुन्छस्, हामीलाई पनि तान् है ।’
– वाइह्यात जिन्दगी, ५ वर्ष पछ्याएर हरेक कोणबाट हेरि–जाँचि–बुझी प्रेम बिहे गरेँ । श्रीमती हिसाबकिताब मिलाएरै पटक पटक भनिरहन्छिन् – म कत्ति माया गर्छु हजुरलाई । मैले तपस्या गरेर पाएकी हुँ । यसपल्टको तिजमा एउटा नयाँ मोडेलको नेकलेस र रानीहार हालिदिस्योस् है ।
– वंश धान्ने छोरो भन्छ – आइ लभ यु ड्याड, एउटा नयाँ मोडलको बाइक किनिदिस्यो है ।
– सानी छोरी काखैमा आएर मायालु लाडे पल्टिइन् । ‘पप्पी देऊन छोरी’ भन्छु । ‘मलाई के किनिदिसिन्छ ?’ पो भन्छिन् ।
दाइ बर्बराएको कुरा सुनेर मैले भनेँ – कुरा सामान्य त हो नि दाइ । यसमा बर्बराउने र सोच्ने कुरा के छ र ?
दाइले जवाफ दिए – तिमी त पढेको मान्छे, मलाई भनन भाइ, माया भन्नु र हिसाबकिताब भन्नु एकै हो ?
अगस्ट १३, २०२०
सान एन्टोनियो, अमेरिका



