वत्सराज कोइरालाको जन्म कुन्छा, लमजुङमा शकुन्तला कोइराला एवम् तीर्थराज कोइरालाका सुपुत्रका रुपमा भएको थियो । उनी गैंडाकोट ११ नवलपुरका वासिन्दा हुन् र वर्तमानमा सरकारी नोकरीका क्रममा पाटन उच्च अदालत, हेटौंडा इजलास, मकवानपुरमा कार्यरत रहेका छन् । प्रस्तुत छ, लघुकथाकार वत्सराज कोइरालाको लघुकथा
लघुकथा: संविधान
– वत्सराज कोइराला
अन्त्यमा जनताले आफ्नो आस्थाको ग्रन्थ आफैं चुन्ने निर्णयमा पुगे। सबै धर्मग्रन्थहरुले त्यस दिनको प्रतीक्षा गर्न थाले। हरेक देवतालाई आफ्नो श्रेष्ठता माथि गर्व थियो। सबै देवतालाई आफ्नो सर्वोच्चताको घमण्ड थियो।
एउटा धर्मग्रन्थले भन्यो, “मेरा देउता सबैभन्दा पवित्र छन्। उनले सबैलाई समान ब्यवहार गर्छन्। त्यसैले हाम्रो ग्रन्थ चुन्नुपर्छ।”
अर्को धर्मग्रन्थले भन्यो, “मेरा भगवान करुणानिधान छन्। उनी हाम्रा पिता समान छन्। हाम्रो भलाइ सोच्छन्। यही ग्रन्थ चुन्नु पर्छ।”
अर्को धर्मग्रन्थले भन्यो, “मेरा ईश्वर सबैभन्दा शक्तिशाली छन्। उनीसँग थुप्रै दिव्यास्त्रहरु छन्। एक पलमा उनी संसार मेटाउन सक्छन्, नयाँ संसार बनाउन सक्छन्। यो ग्रन्थ नै आस्थाको ग्रन्थ बनाउन उपयुक्त छ।”
एक एक गर्दै धेरै धर्मग्रन्थ आए। मान्छेले गिन्ती समेत बिर्सियो। अन्त्यमा उसको आँखा एउटा पुस्तकमा पर्यो। उसले त्यस ग्रन्थलाई सोध्यो:
“तिमी आफ्नो भगवानको बारेमा केही भन्दैनौ ?”
“मेरो कुनै भगवान छैन।” त्यस ग्रन्थले जवाफ दियो।
“यदि कुनै देवता नै छैनन् भने तिमी कसरी धर्मग्रन्थ भयौ त ?”
“लाखौं मानिसले ममाथि विश्वास राख्छन् । उनीहरूले मैलाई आफ्नो मार्गदर्शक ठान्छन्।”
“यदि कोही तिम्रो भगवान नै छैनन् भने तिमीले कहाँबाट शक्ति पाउँछौ त ?
“जनताबाट पाउँछु।”
“आखिर तिमी को हौ ?”
“संविधान !”
संविधानको पछाडि नैतिकताको बल, न्यायको चाहना र जनताको विश्वास थियो। त्यसैले बाँकी सबै धर्मग्रन्थहरु त्यहाँबाट लुसुक्क एकातिर लागे।
स्रष्टा परिचय / वत्सराज कोइराला
- प्रस्तुति : तारा के सी



