स्रष्टा परिचय / छायादत्त न्यौपाने

- प्रस्तुति : तारा के सी


छायादत्त न्यौपाने बहुविधाका लेखक हुन् । उनको जन्म २०२२ असार १६ गतेका दिन पर्वत जिल्लाको हुवासु–४ मा देवरुपा न्यौपाने एवम् स्व. कमलप्रसाद न्यौपानेका सुपुत्रका रुपमा भएको थियो । उनी प्राध्यापक, लेखक एवम् सम्पादकका रुपमा परिचित छन् । उनले पाठ्यपुस्तकका कृति, बालसाहित्य, भाषासहित्यको अनुसन्धानमा विशेष रुचि लिएर कार्य गरेको पाइन्छ । पछिल्ला दिनमा लघुकथा लेखनमा सक्रिय भएर लागेका न्यौपानेका लघुकथा यसपटक प्रस्तुत गरेका छौं ।

भ्रमकाे पर्दा
राम्रो गरेर बसेकाे छाेरालाई घर बाेलाएँ । ऊ मसँग मुर्मुरियाे । धैर्य गर भनेर सरकारले कृषि कर्ममा अनुदान दिन्छ भन्ने जानकारीले सुमसुम्याएँ ।
मैले गाउँमै एक सय सतासी राेपनी माैजामा तरकारी खेतीसँगै बाख्रापालन गर्न प्रेरित गरेँ । उसले कार्यक्रम अघि बढायाे । तीन जना साथीहरू मिलेर काम गर्ने गरी याेजना बनाए ।
छेकबारसहित काम सुरु भयाे । उनीहरूले अनुदानका लागि स्थानीय सरकारसँग अनुराेध गरे ।
पहिले त स्थानीय जनप्रतिनिधिले प्रान्तीय सरकार देखाएर पन्छाउन खाेजे । पटकपटककाे प्रयत्नपछि अनुगमनकाे नाटक खेले । अनुगमनपछि त ती प्रतिनिधि लुगै खाेलेर बाेलेछन्* मलाई के अाउँछ ?*उनको कुरा सुनेपछि केटाहरूले*तपाईंका मतदाता राेजगार बन्छन् । गाउँलेमा काम गर्ने उत्साह थपिन्छ । सस्तोमा राम्रो खानेकुरा पाउँछन् । गाउँको विकासले फड्को मार्छ । तपाईं जनप्रतिनिधिले ठुलो उपलब्धि देखाउन पाउनुहुन्छ नि !*
केटाहरूका कुरा सुनेपछि उनी फेरि बाेलेछन् *यसबाट तपाईंहरू त मनग्गे कमाउनुहुन्छ । मैले के पाउने भएँ त ?* केटाहरू दिक्क भएर घरतिर अाए ।
भाेलिपल्टदेखि त तिनै जनप्रतिनिधिका कार्यकर्ता विराेधमा उत्रे । राति राति बार भत्काइदिने, जग्गा दिनेहरूलाई फिर्ता माग्न लगाउने, नमान्नेलाई धम्क्याउने । अनुदान त यस्तो कामै गर्न नदिने नदिने खेल पाे पाइयो ।
भएन भनेर म अाफै उनलाई भेट्न गएँ । मसँग पनि उनलेे भने*तपाईंका छाेरा कुरै बुझ्दैनन् । म पनि यत्रो खर्च गरेर चुनाव लडेँ, फेरि अाइराछ चुनाव । उनी वास्तै गर्दैनन् ।* उनलेे त उल्टै अनुदानको चालिसप्रतिशत कमिसन नदिए काम गर्न नदिने चेतावनी पाे दिए त ! म त छाङाबाट खसेँ ।
छर्लङ्ग भाे, किसानका नाममा हुने अनुदानकाे खेल । मनमा पालेकाे काम गर्न खाेज्दैनन् किसानहरू,यत्रो सहयोग गरेको छ सरकारले भन्ने साेचाइ त पुरै भ्रम रहेछ,धाेका रहेछ ।
म अवाक् भएर घर फर्कें । अाज बल्ल च्यातियाे भ्रमकाे पर्दा भनेर छाेरासँग माफी मागेँ र बिदेसिन अाग्रह गरेँ ।

यसमा तपाइको मत