स्रष्टा परिचय / ललिता ” दाेषी”

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- बि.सं. २०२५ कार्तिक १६ गते ललितपुर जिल्लाकाे इमाडाेलमा पिता कुल बहादुर गजुरेल र माता सुर्य कुमारी गजुरेलकाे सुपुत्रीकाे रूपमा जन्मिनु भएकाे हाे साहित्यकार ललिता ” दाेषी” । उहाँले नेपालीमा एम.ए सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। बाल साहित्य र पाैढ साहित्यमा ३१ अाेटा कृतिहरू प्रकाशित गरिसक्नु भएकि साहित्यकार ललीता ” दाेषी” ले तीन दृश्य कथा,र अरू बिधामा मुक्तक, कथा, लघुकथा, गजल, नाटक, गरेर डेढ दर्जन संयुक्त कृतिहरू पनि उहाँका प्रकाशित भएका छन्। केही पुस्तकहरू प्रकाशनकाे क्रममा रहेका र उहाँले लेख्नु भएका केहि बाल गीतहरू रेकर्डिङ समेत भईसकेका छन्। बालकथा,बाल कविता, बाल नाटक, गरेर करिव एक दर्जन जति रचनाहरू प्रा.वी नि .मा.वी.का पाठ्यक्रममा समेत परेका छन्। बहुअायमिक शालिन ब्यक्तित्व ललिता ” दाेषी” ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्न भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै ।

धाईआमाको आँसु
ललिता ‘दोषी’

आफ्नै छिमेकी रमेशको छोराको व्रतबन्ध भएकाले वृद्ध धाईआमा स्वाँस्वाँ गर्दै भीक्षादान दिन आइन् । एउटै लाइनमा उभिइरहेका आफ्नै हातले हुर्काइएका विवाहिता छोरीहरूलाई तलदेखि माथिसम्म हेरिन् । सुन्दर गहना र कपडाले झकिझकाउ समा, दीपा, गीतासम्म पुग्दा उनको मन खुसीले पुलकित भयो ।
शान्तामा पुगेर आँखा टक्क अडियो । उनमा निराशता, कौतूहलको जन्म एकैचोटि भयो । भर्खर मात्र पुलकित समुद्रजस्तै मन कणजस्तै भई खुम्चियो ।
उनी धर्मराउँदै लाइनबाट बाहिर निस्किएर रत्नलाई तान्दै भनिन्, “मेरी शान्ता आँखामा राखे पनि नबिझाउने, आफ्नै गाँस काटेर अरूको पेट भर्ने मानौँ दधिचिजस्तै थिई । त्यस्तालाई उसका बाबुआमाले आगोमै धकेलेछन् नि रत्ने, शिशिरको रूखजस्तै फुङ्ग भइछ ऊ । धेरै पढेकी थिई पो भन्थे दुलाहाको दर्जा के रहेछ हँ ? अनि अरूका दुलाहाका दर्जा नि ?’’
रत्नका आँखाहरू पनि सबैमा छरिएर शान्तिमा गएर रोकिए । उनी धाईआमाले भन्न खोजेका आशय बुझेर पनि चुपचाप रहे ।
धाईआमाले कड्किएर भनिन्, “हैन मोराहरू ! तिमीहरूका दरसन्तानलाई आफ्नै हातले हुर्काइदिएँ , आज यति सानो कुरा सोध्दा पनि बताउँदैनन् गाँठे !”
रत्नले नम्र हुँदै सानो स्वरमा धाईआमाको कानैनिर मुख लगेर भने, “कहाँ आमा पनि मान्छेको भीडमा दर्जासर्जा सोध्नुहुन्छ भन्या ?’’
धाईआमाले रुन्चे स्वरमा भनिन्, ‘ उनको फुङ्ग उडेको अनुहार अरूको भन्दा धेरै फिक्का पहिरन देख्दा मनमा औडाहा भयो अनि के गरौँ त ? ल छिटो भन् के हो उनको लोग्नेको दर्जा ?’’
समाको लोग्ने जग्गा दलाली, गीताको लोग्ने भन्सारको पिउन, दीपाको लोग्ने व्यापारी, शान्ताको लोग्ने प्रशासन अधिकृत हुन् रे क्या !”
धाईआमाले दुःखित हुँदै आँखाबाट आँसु खसाल्दै भनिन्, “च्व ! च्व ! हैन, रत्ने शान्तिका बाबुआमाले त्यो दलालीसलाली, पिउनसिउन ,व्यापारीस्यापारी दर्जा भएको केटा पाएछन् त गाँठे ! त्यो अधिकृतलाई दिएर जिउँदै मारेछन् छोरीलाई हैन तँ नै भन् त ? ’’
धाईआमाको कुराले रत्न झसङ्ग झस्किए । हो र होइनको उत्तर दिन सकेनन् किनकि रत्न पनि अधिकृत नै थिए ।

बुद्धनगर काठमाडौँ

यसमा तपाइको मत