लघुकथाकार लक्ष्मण अर्यालको जन्म वि.स. २०२६ साउन १५ मा ज्ञानप्रभा अर्याल एवम् शिवहरि अर्यालका सुपुत्रका रुपमा मैदी—२, अमराई, धादिङमा भएको थियो । हाल उनी चितवनको रत्ननगर नगरपालिकामा स्थायी बसोबास गरेर शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवनमा सहप्राध्यापकको रुपमा रहेका छन् । वि.स. २०५७ सालबाट लघुकथा लेखनमा लागेका अर्यालका टुटी काण्ड (२०७५), औंला (२०७५) लघुकथा कृति प्रकाशित छन्् । लघुकथाकार अर्याल सम्प्रेषणको कार्यकारी सम्पादक, रत्ननगर महोत्सव स्मारिकाको २०६४, २०६६, २०६८ र २०७० को सम्पादक, वन्दना मुखपत्रको प्रधान सम्पादक, स्मृति बिम्बमा बा खेमलाल लामिछाने कृतिको सम्पादकका रुपमा रहेर रहेर आफ्नो सम्पादन कुशलता प्रस्तुत गरिसकेका छन् । उनले लघुकथा लेखनका लागि चितवन साहित्य परिषदबाट प्र्रदान गरिने चिसाप कृष्णकृष्णा पुरस्कार (२०७६) गणेश श्रमणसँग संयुक्त रुपमा प्राप्त (औंला कृतिका लागि) प्राप्त गरेका छन् । हाल उनी बाल्मिकी साहित्य सदन, चितवनको सचिवका रुपमा सक्रिय भएर कार्य गरिरहेका छन् । प्रस्तुत छ ः लघुकथाकार लक्ष्मण अर्यालको परिचय र उहाँको लघुकथा ः
लघुकथा : संस्कार
लक्ष्मण अर्याल
“आमाका चप्पल लाएर हिंड्ने हो ? जी गर आमाको चप्पल ।” – बाबुले सानो छोरालाई भनेका थिए ।
“हछ् ।” – सानो छोराले आमाको चप्पल आफ्ना पातला अनि सुकिला गोडाबाट निकालेर ढोगिदिएको थियो ।
घटना भएकै यत्ति थियो त्यसबेला । घटना निक्कै अघि घटेको थियो । घटना झिनो थियो तर मातृशक्तिको यथेष्ट सम्मान थियो ।
त्यही छोरो बाबु बन्यो पछि । उसले यो घटना आफ्नो छोरोलाई पनि सुनायो । छोराले यो घटना सुनेर भन्यो – “बाबा, यो कथा हाम्रा अंकललाई सुनाउन किन बिर्सिएको होला ? सुनाएको भए हाम्री आन्टी कम्तीमा पनि सम्मानित भएर बाँच्न त पाउनुहुन्थ्यो । विचरी आन्टी दिनदिनैको रक्सी सेवन, अश्लील गालीको वर्षा, अङ्कलको पाशविक हर्कत, घरभित्र अर्की भित्र्याउने लगातारको धम्की, कुटपिट कसरी सहिरहनुभएको होला । धन्य छन् हाम्रा आमा, दिदी र बहिनीहरु – बाबुआमाले जोडिदिएको नाताको बुहार्तन सहन्छन् तर हत्पती चुँडाल्न चाहादैनन् । लोग्ने नामको पदसँग उनीहरू निरन्तर एकतर्फी सहकार्य गरिरहन चाहान्छन् ।”
बाबुले भन्यो – “यो घटना केटाकेटीले चुम्बकिएर सुन्ने दन्त्यकथा थिएन छोरो जसमा सुन्नेले सुनको माला र भन्नेले फूलको माला प्राप्त गरोस्, कथा वैकुण्ठ जाओस् र भन्ने वेलामा मात्र मुखमा आओस् । यो त संस्कारको हस्तान्तरण थियो । म पनि संस्कार हस्तान्तरणको एउटा आशावादी प्रयासमा छु ।”



