स्रष्टा परिचय:- पिता लालराज भेटवाल र माता मुक्तादेवी भेटवालकाे सुपुत्रकाे रूपमा बि.सं. २०३२ श्रावण १२ गते लिखु – ६ नुवाकाेटमा जन्मिनुभएका स्रष्टा उत्तम राज भेटवालले मास्टर डिग्री ( एम.बि.ए) सम्मकाे अध्यन गर्नु भएकाे छ। सानैदेखि साहित्य लेखनमा रुचि भएका भेटवाल ज्यूले कविता, मुक्तक,गजल, हाइकु, बिधामा कलम चलाइरहनु भएकाे छ। विभिन्न पत्रपत्रिकाहरूमा छाेटा समसामयिक लेख रचना/ कविता उहाँका प्रकाशित भइरहेका छन्। लघुकथा बिधामा रूचिका साथ कलम चलाउदै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँका लघुकथाहरू बेला बेलामा पाेष्ट भइरहेका छन्। स्रष्टा उतम बिचार “सर्जक” ज्यूले अभिनव स्थलगत मुक्तक लेखनमा तृतिय पुरस्कार नगद सहित , लीलाध्वज साहित्य प्रतिष्ठानबाट कदरपत्र र नगद पुरस्कार, नाेबेल साकाेसबाट उत्कृष्ट रचना सम्मान पुरस्कार,कवि समूह नेपालबाट सम्मानित स्रष्टा हुनुहुन्छ। थाेपा साहित्य प्रतिष्ठानका उपाध्यक्ष ,संसाक मासिक अाजिवन सदस्य, साहित्यकार खेलकुद समाज संस्थापक सदस्य, त्रिशुली वाङ्मय प्रतिष्ठान सदस्य र शब्द रहर साहित्य अभियानका काेषाध्यक्ष रहदै साहित्यमा निरन्तर क्रियाशिल युवा साहित्यकारकाे रूपमा परिचित स्रष्टा हुनुहुन्छ। उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई अाज मैले खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा एक
प्रेम
उत्तम विचार
मालाले पल्लो कोठामा भएको श्रीमान महेशलाई सुनाउँदै छोरालाई भनी, “मानव ! तेरो बुवालाई खाना तयार छ भन्दे ।”
छोरा मानवले केही भन्न नपाउँदै बाबुचाहिँले घुर्की लगाए, “खाना खान मन छैन भन्दे जा तेरी आमालाई ।”
अरु दिन जस्तै आज पनि श्रीमानश्रीमतीबिच बोलचाल भएन् ।
छोरी मालिका भाइ मानवसँग गुनासो गर्न थालिन, “ खै हाम्रा घरमा सँधै रडाको मात्र हुन्छ । साथीहरू आफ्ना आमाबुवा मिलेका कति मिठा कुरा सुनाउँछन्् । आफ्नो भने यस्तो हाल छ ।”
दुवै दिदीभाइ दिक्क हुन्छन् ।
एकदिन श्रीमान कार्यालयबाट घर पुग्न ढिला हुन्छ । माला आत्तिन्छिन्, घरको भित्र बाहिर जाने गर्छिन ।
छोराले सोध्छ, “आमा, यसरी किन भित्रबाहिर गरिरहनु भएको छ ।”
मालाले भनिन्, “तिम्रो बुवा अहिलेसम्म घर आउनु भएन् ? के भयो ? फोन गर त ?”
त्यतिबेला टुप्लुक्क महेश घर आइपुगे । “हैन, घरमा हुँदा क्र्वारवार्र गर्छे, साँझ अलि घर आउन अलि ढिला भयो भने पिलपिल गर्छे । म त केही बुझ्दैन बा ।”
अचानक श्रीमानलाई देखेर श्रीमती लाज मानेजस्तो गरेर भित्र गईन । छोराछोरी कहिले बाबुको मुखमा कहिले आमाको मुखमा ट्वाल्ल परेर हेरिरहे ।



