स्रष्टा परिचय:-
पहिलो प्रकाशित रचना : सहयात्री ( कथा ) , “गरिमा” मासिक , माघ अङ्क २०५४ साल
प्रकाशित कृति : अध्याय ( संयुक्त गजल सङ्ग्रह ) २०७४
२०३२ कार्तिक ५ गते परवानीपुर – ८ सर्लाहीमा माता माण्डवी दाहाल र पिता रामप्रसाद उपाध्याय दाहालको कोखबाट जन्मनु भएका स्रष्टा लीलाराज दाहाल सानैदेखि साहित्यमा रुचि राख्दै अाउनु भएका एक स्रष्टा हुनुहुन्छ। कथा, लघुकथा, गजल, मुक्तक बिधामा कलम चलाउनु हुने लीलाराज दाहाल ज्यूका विभिन्न साहित्यिक पत्रपत्रिकामा उहाँका रचनाहरू प्रकाशित भइरहेका छन्। अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा
समाजसेवी
लीलाराज दाहाल
राधा बाटोको छेउमा बसेर रोइरहेकी थिइन् । उनको रुवाइ सुनेर मानिसहरु झुम्मिएका थिए । उनका पति र सासु घरको आँगनमा उभिएर के के फलाकिरहेका थिए । वरिपरिका छिमेकीसँग गुहार मागेर उनी घरतिर लागिन् । अव उनको घरको आँगनमा छिमेकीहरु जम्मा भए ।
“ तपाईंहरु कसले बोलाएर मेरो घरमा आउनु भएको ? जानुस् सबै जना । ” सासुले छिमेकीहरुलाई खाउँला झैं गरेर आँखा तरिन् ।
“ बुहारीलाई यसरी यातना दिन पाइन्छ ? बुहारी पनि छोरी जस्तै होइनन् ? मान्छे त आमा छोरा नै पढे लेखेकै हुनु हुन्छ त । ” छेउमा उभिएका रामप्रसादले राधाका पक्षमा पैरवी गरे ।
“ यसलाई यो घरमा एक दुई तीन बस्नै दिन्न । यो अफिसमा गएर को को सँग लसपस गरेर आउँछे । मलाई थाहा छैन ? जागिर गर्न जानु त यसको बहाना मात्रै हो । ” सासु कुर्लिरहेकी थिइन् । राधाको पति अजय पनि आमाकै पक्षमा ढल्किएको थियो ।
“ मैले कुनै गल्ती गरेकी छैन । पहिले अप्सरा जस्ती बुहारी भने । अहिले मेरा माइती गरीव रे । स्तर मिलेन रे । मलाई अंश दिलाई दिनुहोस् । म यी क्रुर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिन । मलाई यिनीहरुले जिउंदै मार्नेछन् । ” उनको आँसु थामिएको थिएन ।
यत्तिकैमा सासुले उनको कपाल लुछेर भुइंमा पछारिन् । पति अजय पनि श्रीमती बिरुद्ध खनियो । छिमेकीहरुले प्रहरी बोलाए ।
प्रहरीले राधाको उजुरी सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो ।
सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दै थियो , “ नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन ? म किन जाने ? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ । ”
बागमती ११ , कर्मैया , सर्लाही



