लघुकथाकार कल्याण पन्तको जन्म सन् १९६८ मे महिनामा हालको राइनास नगरपालिका अन्तर्गत वडा नम्बर ८ स्थित तार्कुघाटमा पर्ने डौलियाडाँडा भन्ने गाउँमा भएको हो । १४ वर्षको उमेरदेखि साहित्यमा हात हाल्नु भएका पन्तका हालसम्म दुई वटा लघुकथा समय सन्दर्भ र प्रसाद लघुकथा संग्रह प्रकाशित कृतिहरु छन् । यसका अतिरिक्त उहाँका एक दर्जन भन्दा बढी स्मारिकाका सम्पादक, ३ सय जति लेखहरु प्रकाशित छन् । उहाँ आदर्श समाज राष्ट्रिय दैनिक, पोखराका स्तम्भकार पनि हुनुहुन्छ ।
उहाँ अनेसास ९अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज०, गण्डकी समितिका कार्यकारी सदस्य मात्र नभई नेपालको एक मात्र नियमित रुपमा हरेक महिना वाचन गरिने लघुकथा प्रतिष्ठानका सचिव समेत हुनुहुन्छ । उहाँले गोरखापत्र राष्ट्रिय दैनिक प्रकाशनको ११७ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगितामा चतुर्थ स्थान हासिल गर्नुभएको थियो । नेपालमा एकल लघुकथा वाचन गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । हाल उहाँ पृथ्वीनारायण क्याम्पस, पोखरामा वनस्पतिशास्त्र विषय प्राध्यापन कार्यमा संलग्न हुनुहुन्छ ।
लघुकथाः भूल
कल्याण पन्त
भेषराजले दराजभित्र हेरे, ओछ्यानमा हेरे, वल्लोपल्लो कोठातिर हेरे तर कतै पनि घडी फेला परेन । उनले सम्झने कोसिस गरे, टेबलको घर्रा पटकपटक खोले । खोज्दाखोज्दा आजित भएपछि श्रीमती र छोरालाई हराएको ठाउँ देखाउँदै भने, “नुहाउँदा यहीं राखेको थिएँ, अहिले छैन ।”
भेषराजलाई मिटिङमा जान हतार भइरहेको थियो । उनी यत्तिकै त्यतैतिर लागे । “तीन वर्षदेखि व्याट्री पनि नफेरेको, रंग पनि नउडेकोे, अहिले बुच्चै देखियो ।” उनी नीलडाम परेको नाडी हेरेर चुकचुकाए ।
उनले बिहान केदार, बुद्धि, हरि आफ्नो कोठामा आएको याद गरे । उनीसँगै मिटिङ थियो । मनमा कुरो खेल्दै थियो, अचानक बाटोमै कदारसित झ्वास्स भेट भो । उनको हातमा पनि त्यस्तै घडी थियो ।
अनायास भेषराजको मुटु चल्न थाल्यो । “खोसेर लिइहालूँ कि नकराइकन बसौं !” उनी असमञ्जसमा परे । उनले बुद्धि, हरिलाई समेत चोरैचोर अनुहार देख्न थाले । मिटिङभर केदारकै देब्रे हात झल्झली सम्झिरहे ।
घाम नडुब्दे उनी तनावमै घर पुगे । हत्पत्त श्रीमतीलाई केही भन्न खोज्दै थिए, अर्धाङ्गिनीले हातमा तेस्र्याउँदै भनिन्, “यी लिनुस घडी्, ढोकाको कोशमा रहेछ ।”



