स्रष्टा / विश्वनाथ खनाल

- प्रस्तुति : तारा के सी


लघुकथाकार विश्वनाथ खनालको जन्म वि.स २०१८ पुस २ मा चन्द्रादेवी खनाल एवम् रामजीप्रसाद खनालका सुपुत्रका रुपमा लखनथापा गाउँपालिका–४, गोरखामा भएको थियो । हाल उनी रत्ननगर नगरपालिका–१३। चितवनमा बसेर साहित्यिक सांस्कृतिक गतिविधिमा संलग्न रहेका छन्् ।। उनको पहिलो लघुकथा २०५० सालमा प्रकाशित भएको थियो । विश्वनाथ खनालको सहिदहरूको विरोधपत्र (२०७६) नामक लघुकथा कृति प्रकाशित छ । पहिले निजामती कर्मचारी रहेका खनाल हाल निजी व्यवसायमा संलग्न छन्् । प्रस्तुत छ, लघुकथाकार विश्वनाथ खनालको परिचय र उनको लघुकथा ः
लघुकथा – देश
-विश्वनाथ खनाल
*
विदेशमा आएर पनि सुख र सन्तोष मिलेन ।घरको अवस्था र परिवारको निर्वाहको निम्ति परदेशको अस्वाभाविक माहौलमा आफुलाई सहज बनाउंदै काम गर्यौं । कुनैदिन आफ्नै देशले पनि कांचुली फेर्ला र कामकाजी युवाहरुको परख होला ।आफ्नै माटोको सुगन्धमा रमाउने दिन आउला ? भनेको यस्तो कठीन परिस्थितिमा पनि देशले पराई व्यवहार गर्यो । के यही हो नागरिक प्रति राज्यको दायित्व ? सागरले बगिरहेको महाकाली नदीको पारी दशगजामा उभिएर लामो श्वास फाल्यो। आफ्नै देश तिर फर्किएर पर क्षितिज सम्म नियालिरह्यो । नजिकै उभिएका साथीहरू मध्ये मकरले उसको कुरा सुने पनि नसुने झैं गनगन् गरिरह्यो ।
हेर सागर ! तेरो कुरा सुनेर मैले आफ्नो निर्णय बद्लेर तं संगै प्रवास लागेको हुं । आज प्रवासले हामीलाई आफ्नै देश जा भन्यो र यो ठाऊंमा ल्याएर छोडिदियो । जुन माटोमा हामी जन्मियौं । जुन देशले तं यो देशको नागरिक होस् भनेर यो प्रमाण दियो । आज त्यै माटो ,त्यै भुमि प्रवेशमा हामीलाई रोक लागेको छ । यो देश,माटो ,जन्मभुमिको काम कतिबेला काम लाग्छ ? मकरले लामो असन्तुष्टि व्यक्त गर्यो ।एक दुई सय होईन ? हजारौंको संख्यामा नेपाली नागरिकहरू दशगजामा विलखवन्दमा परेका छन् । सागर यतिबेला के भनौं नभनौंको असमन्जस स्थितिमा पुगेको छ ।
लामो समय पछिको हो-हल्ला र अनिश्चतता पश्चात सागर र मकर महाकालीमा हेलिए । जीवनको प्रवाह गरेनन् । मरेपनि वांचे पनि आफ्नै देश – आफ्नै मातृभूमि प्यारो ठाने । कालको मुखबाट वांचेर आफ्नो देशको भुमिको नदी किनारमा पुगे । तर…….तर उनिहरूले आफ्नो भनेको देश ? उनिहरुलाई गिरफ्तार गर्न हत्कडी लिएर उभिरहेको थियो । जति लाज उनिहरुलाई आफ्नो शरीरमा कपडा नभएर लागेको थिएन ।त्यसको कैयौं गुणा आफ्नै देशको शासकहरुको नाङ्गो कृत्य प्रति व्यङ्ग गर्दै हांसी हांसी गिरफ्तारी दिए ।

यसमा तपाइको मत