स्रष्टा परिचय:- पिता शिवहरि वाग्ले र माता कमलादेवी वाग्लेकाे सुपुत्रीकाे रूपमा बि.सं.२०२७ चैत १३ गते गण्डकी अञ्चल तनुहुँ साबिक मनपाङ- ८ साँगेपयँर मा जन्मिनु भएकि स्रष्टा चन्द्रा न्याैपानेले नेवाली बिषयमा एम.ए सम्मकाे अध्यन गर्नु भएकाे छ। लामाे समय सम्म शिक्षण पेशामा अाबद्व रहेर हाल टाेखा नगरपालीका ८ काे जनप्रतिनिधि ( बडा सदस्य) काे रूपमा राजनितीमा सक्रिय हुनुहुन्छ। सानै देखि साहित्यमा रुचि राख्दै लेख्दै अाउनु भएकि स्रष्टा न्याैपानेका प्रकाशित कृतिहरूमा – अन्तर्र मनकाे अावाज ( कविता, तिजगीत संङ्ग्रह- २०६९) बाल बगैँचा ( बालकाब्य संङ्ग्रह- २०७६) हेर हेर नानी( बाल कविता संङ्ग्रह) हीरा बालउपन्यास-२०७६ प्रकाशित कृतिहरू हुन। उहाँ अन्तरास्ट्रिय नेपाली साहित्य समाज अाजिवन सदस्य, गाेङ्गबु साहित्य समाज संस्थापक काेषाध्यक्ष, साहित्यकार खेलकुद समाज सदस्य, साहित्य तथा बिचार मञ्चका सल्लाहकार काे रूपमा उहाँकाे संलग्नता रहेकाे छ। उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै ।
लघुकथा : राहत
चन्द्रा न्यौपाने
आमा ! आमा ! आज हाम्रो टोलमा राहत बाँड्ने र’च है; बल्ल आज दालभात खान पाइने भयो । अब त फुको चिउरा र पानीमात्रै खाएर बस्नु पर्दैन भन्दै पाँच वर्षको छोरा बलु खुशीले उफ्रिरहेको देखेर जति म खुशी थिएँ; दुई वर्षदेखि ओछ्यान परेका बलुका बा आँखीझ्याले छानोबाट आकाशतिर हेर्दै त्यसको चौगुना बढी खुशी देखिन्थे । कोरोना कहरले देश बन्दाबन्दीमा रहेकाले साह्रै समस्यामा परेकाहरूको नाम सङ्कलन गर्ने भन्दै एकसाताअघि चरपाँच जनाको समूह आएर हाम्रोे भान्छै हेरेर नाम टिपेर लगेकाहरूलाई मैले आज
भगवान नै सम्झिएँ ।
बलुका बाले थला पर्नु केही अघिमात्र कति कान बुच्चै राख्छेस् ? ए, कान्छी ! ला यो बाईस क्यारेटकै भए पनि ल्याइदिएको छु; लगा भन्दै ल्याइदिएका मुन्द्रा छाम्दै थिएँ, बलुले आमा ! आमा ! राहत लिन जाने बेला भएछ । उताको काका काकीले बोलाइरहनुभएको छ भनेपछि झल्याँस्स भएँ र झुरुक्क उठेर ओढिरहेको पछ्यौराले नाकमुख छोप्दै फुरुङ्ग पर्दै म पनि त्यतैतिर गएँ ।
धमाधम नाम बोलाउँदै राहत दिंदै थिए । मेरो पालो आयो; मैले पनि अघिदेखि कहीं हराउँछ कि भन्दै जतनले बेस्सरी हातले समाएको आफ्नो नागरिकताको फोटोकपी दिनासाथ यो त त्यति बुझिएको छैन, बुझिने ल्याउनुस् भने । यही लकडाउन भएपछि अस्ति परेको पानी छानोबाट भित्र पसेर सबै कागजपत्र यस्तै भएछन् भन्दै मैले सुनाएको समस्याले उनीहरूलाई कत्ति पनि छोएन । उल्टै हप्काउँदै भने – “हुँदैन भनेसी हुँदैन; सुनिनौ ? छ भने बुझिने ल्याऊ; छैन भने तिनै कानका बेचेर खाऊ । त्यहींमाथि यसरी सुनका गहना लगाउन सक्नेलाई यो राहत होइन ।”
मोटरसाईकल र स्कुटरमा राहत ओसार्नेहरूका दुईदुई तोलाका गहनाहरूले झरिझुट्टै भएकाहरूको लवाइतिर चाहिं उनीहरूको ध्यान खै किन हो पटक्कै गएन, तर ………।
यसरी उनीहरू मलाई नदिई धमाधम अरूलाई दिन थाले।
तैपनि अन्तिमसम्म भए पनि दिन्छन् कि भन्ने आशामा बसिरहें
तर सबै बाँडिसकेपछि अहो साह्रै थकाइ र भोक लागिसक्यो । ल ल अब जाऔं होटलतिर; साहुनीले अघि नै मासुभात पाकिसक्यो भन्दै थिइन् भन्दै मतिर ध्यानै नदिई गलल हाँस्दै हिंडे । …. …………..



