लघुकथाकार नवराज शर्माको जन्म वि.स. २०१० माघ ७ गतेका दिन सुशीलादेवी शर्मा एवम् रामजीप्रसाद शर्माका सुपुत्रका रुपमा बिरगंजको बिर्ताबजारमा भएको थियो । उनी हाल भक्तपुरमा स्थायी बसोबास गरिरहेका छन् । उनले ठाकुरराम बहुमुखी क्याम्पस, बिरगञ्जबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको शिक्षा प्राप्त गरेको पाइन्छ । नवराज लामो समय राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत भएर हाल सक्रिय लेखनमा लागेका छन् । उनको पहिलो लघुकथा तःनखा २०३० पौषको ‘अभिनव’ सामयिक साहित्यिक संकलन वीरगंजबाट प्रकाशित भएको थियो । प्रस्तुत छ,लघुकथाकार नवराज शर्माको परिचय र लघुकथा ः
लघुकथा : गाँठो
नवराज शर्मा
दिनभरि साथीहरुसित घाम ताप्दै दहलमारा खेलेर समय बिताउँछ । साँझ टोलको एक फन्को मार्छ । छिमेकी मित्र थापाको चिया पसलतिर जाने प्रस्ताव चिया खान मन छैन भनी सधैँ टार्छ । अचेल उसको दिन यसै गरी बित्छ ।
आजपनि सधैँ झैँ डुलेर घर छेउ आइपुग्दा देख्छ उसको बालसखा सुरेन नातिलाई बिस्कुट दिंदै थियो । “ आज यसले पेन्सन बुझे जस्तो छ “ ऊ सोच्छ । दैलोनिर उभिएको आफ्नो नातितिर हेर्छ । नाति पनि उसैलाई हेर्दै थियो ।ऊ रित्तो गोजी छाम्छ ; रित्तिएको मन लिएर घर भित्र छिर्छ ।
एकदिन छोरासंग’ पकेट खर्च ‘ को कुरो गर्दा छोराले भनेको संझिन्छ “ किन चाहियो पैसा हजुरलाई ? “
“ बुबाले जे चाहिन्छ भने’सी ल्याइ दि’ हाल्छौं नि ! “ बुहारीले पनि सही थापेकी थिई ।
स्वैच्छिक अवकाश लिंदा सहकर्मीहरुले भनेका थिए “ उपदान न लिनु है , आसे होइन्छ । “
छोराको आवश्यकताले उपदान लिइयो । नभन्दै पहिले हात रित्तियो ; अहिले मनै रित्तियो ।
ऊ सरासर कोठामा पस्छ । पहिले त्यो आमाको कोठा थियो अहिले उसको । भरिएको गला र आँखाले आमाको तस्वीर हेर्छ ।उसलाई गाह्रो भए जस्तो हुन्छ । खाटमा घोप्टिन्छ । भक्कानिन्छ ।
“ छातीको गाँठो फुकाए झैँ मनको गाँठो पनि फुकाउ बाबु ! नत्र यसले पिर्छ । मलाई पनि यसले धेरै पिरेको थियो । “ आमाले कपाल मुसारिदिंदै भन्नु भए झैँ लाग्छ उसलाई ।
बीरगंज
हाल :- भक्तपुर -१ , सृजनानगर



