लघुकथाकार सुमन सौरभको जन्म वि.स. २०२३ मंसीर ३० गते भुवना खरेल एवम् बालमुकुन्द खरेलका सुपुत्रका रुपमा खरेलथोक, काभ्रेमा भएको हो । उनी वि.स. २०४५ सालमा लघुकथा प्रकाशनसँगै लघुकथा लेखनमा सक्रिय भएर लागेको पाइन्छ । उनका प्रकाशित लघुकथा कृतिमा आधुुनिक लघुुकथाहरू (२०५२), पराई विचार (२०६५), चौथो लिङ्गी (२०६८), मृत्युु सङ्ग्रह (२०७१) एवम् स्वप्निस्तान (२०७४) रहेका छन् । उनले राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार (२०६७) एवम् चिसाप पुरस्कार (२०७५) प्राप्त गरेको पाइन्छ ।
रातो चेक
सुमन सौरभ
——–
पसिनैपसिना गन्हाउँने मैलो कोट लगाएर एकदिन ऊ मेरो छेउ आयो र भन्यो – “तेरो फाटेको गन्जी पनि मेरै जस्तै पसिना गन्हाउने रहेछ ।”
खेतखन्दै गरेको कोदाली फालेर उसलाई हेरें – काम गर्दैछु, डिस्टप नगर् ”
” कुरो बुझ्, यस्ता कामले जहान बालबच्चा कहिल्यै अघाउन्जेल खान पाउँदैनन् ”
“जानेकै दु:ख गर्न हो, यै नि नगरी के गर्नु त ? ”
” मैले भन्या मान् । जे भन्छु त्यै गर्, सुख पाउँछस् ”
“लु भन् ”
“गीत गा , सय रूपैया दिन्छु ”
गाएँ ” गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ ”
गीत सकिँदा त साँच्चीनै सबै उठेछन् ।
“अब यी गीतले उठेकाहरूसँग मैले भनेको भनेको ठाउँमा जा, मैले भनेको भनेको ठाउँमा ढुङगा हान्, पाँचसय दिन्छु ”
गएँ । हानें । हाताहाती पाँचसय पाएँ र हौसिएँ ।
मभन्दा बढी ऊ हौसिएछ । भन्यो -। अब घन लि र जसलाई देखाउँछु, उसको घुँडा र गोलीगाँठो फोड् , हजार दिन्छु । प्रतिकारमा तेरो पनि फोडियो भने दुई हजार दिन्छु ”
ऊ लुकेर मान्छेको घुँडामा चिनो लगाउँदै गयो, म घनले फोड्दै गएं ।
मेरो पनि घुँडामात्रै होइन, आङ पनि सेकियो । दुईहजार पाएँ ।
“मैले अर्हाएको मान्दै जा, तेरो फलिफाप हुन्छ । ”
” हो रैछ, भन् अब के गरूम् ”
” अब बन्दुक बोक्, गृनेड बोक् । जाँ भन्छु त्याँ ठोक् । निस्फिक्री पैसा दिन्छु ”
उसले याँ भन्यो ठोकेँ, त्याँ भन्यो ठोकेँ ।
यसपाली उसले चेक दियो । रातो । बैंक गएँ र जिल्लिएँ – तपाईँको चेक त सत्रहजारको रैछ, तर बाउन्स भयो… खातामा त जम्मा पाँचहजार मात्रै रैछ …”
बाउन्स भएको रातो चेक बोकेर उसलाई खोज्दै जाँदा थाहापाएँ , ऊ पसिनाको होइन, कुहिएको बासी रगत गन्हाउने कोट लगाएर, नानाथरी सपनाको खेताला खोज्दै, भर्खरै यतैबाट कतै गयो रे !



