स्रष्टा परिचय / बलराम पाण्डेय

- प्रस्तुति : तारा के सी


लघुकथाकार बलराम पाण्डेयको जन्म वि.स. २०३६ असार १८का दिन जोतिसरा पाण्डेय एवम् मोहन पाण्डेयका सुपुत्रका रुपमा कञ्चनपुर जिल्लाको त्रिभुवन बस्ती ३ मा भएको थियो । उनी हाल भरतपुर महानगरपालिका ३, चितवनमा रहेर निजी व्यवसायका साथै पत्रकारितामा संलग्न छन् । उनी लेखाजोखा अनलाइन मिडियामा कार्यरत छन् । प्रस्तुत छ, लघुकथाकार बलराम पाण्डेयको लघुकथा ः
दाउमा अस्मिता
बलराम पाण्डेय
काईतेको ईज्जत प्रतिष्ठा मुलुकमा निकै नै चम्केको थियोे । सामाजिक सेवाका कार्यमा बेलाबेला ठुलै रकम दिन्थ्यो । भ्रष्टाचार विरुद्धको अभियानमा खुब खुलेर सहयोग गथ्र्यो । काइते कुनै कुलतमा लागेको थिएन ।
काइतेकी श्रीमती अति सुन्दर, सुशील, संस्कारी थिई । पुक्क उठेका गाला, रसिलो वदन, जिरो फिगरमा चट्ट मिलेर बान्की परेको गजलमय भाव दिने किसिमको जीउ थियो । देख्ने हर कोहि आकर्षित हुन्थे ।
काइते नाम जस्तै विरुप थियोे । २५ वर्षे युवा उसका राजधानीदेखि धनगढीसम्म घरैघर थिए । कलकलाउँदी गुलाबदेवीले धनमा लोभिएर काइतेलाई स्विकार गरेकी थिई । काइतेको सम्पतिको श्रोत उसलाई थाहा भएन, थाहा दिएन । परिवारमा छोरा थपिए पनि उसको रुपको आकर्षण रहिरहयो ।
काइते बेलाबेलामा ठुल्ठुला होटलमा हाकिमदेखि मन्त्रीसम्मलाई पार्टी दिन्थ्यो । भोलिपल्ट मन्त्रीका पिएको कल आयो । ऊ निराश देखियो ।
गुलाबदेवीले प्रश्न गरी, “किन मलिन हुनुहुन्छ ?”
खरिदारको जागीरे काइतेले भन्यो, “मैले मन्त्रीको कुरा मानेन भने मलाई अख्तियारले समात्ने भयो । सारा सम्पति जाने भयो । मलाई तिमीले मात्र बचाउन सक्छौ । एक रात मन्त्रीकहाँ गइदेउ न ।”
के के न झर्ला र खाउँला भन्ने सोचेर आइतेसँग विवाह गरेकी गुलाबदेवी रिँगटा लागेर त्यहीँ ढलिन् ।

 

यसमा तपाइको मत