स्रष्टा परिचय / टीकाराम उदासी

- प्रस्तुति : तारा के सी


लघुकथाकार टीकाराम उदासीको वास्तविक नाम टीकाराम बुढामगर हो । उनको जन्म वि.स. २०३० पुस १५ गते रोल्पा नगरपालिका —९, गर्पा रोल्पामा सुना बुढामगर एवम् धर्मजित बुढामगरका सुपुत्रका रुपमा भएको थियो । उनको स्थायी ठेगाना घोराही उपमहानगरपालिका —६, अघरा, दाङ एवम् घोराही उपमहानगरपालिका— १५, पद्मोदय टोल, भरतपुर, दाङ रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., बी.एड. (नेपाली) एवम् एम.ए. (राजनीतिशास्त्र) उत्तीर्ण गरेका छन् । उनी नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, बिजौरी, दाङमा उपप्राध्यापक एवम् पत्रकारिता पेशामा संलग्न रहेका छन् । उनका पुस्तकाकार कृतिमा अनुरोध (कवितासङ्ग्रह, २०४८), वर्तमान बाँच्न खोज्दा (गजलसङ्ग्रह,२०५०), परिवेशका धुनहरु (गजलसङ्ग्रह, २०५६), अनुभूतिका बाछिट्टाहरू (हाइकुसङ्ग्रह, २०५८), मौसमका हरफहरु (संयुक्त कवितासङ्ग्रह, २०५९), गजलसिद्धान्त र नेपाली गजलको इतिहास (इतिहास÷समालोचना, २०५९), बोल्दैछ आफै मौसम (गजलसङ्ग्रह, २०६८), कुसुन्डा भाषाको इतिहास (सहलेखन, २०७५), मगर भाषाका आदिकवि ः जीवनी र सिर्जना (जीवनी, २०७६) रहेका छन् । उनले सम्पादन गरेका पत्रिकामा जमर्को मासिक, इन्द्रेनी मासिक, मगर आवाज वार्षिक, अन्तध्र्वनि त्रैमासिक, आँखीझ्याल त्रैमासिक, आदिवासी मञ्च त्रैमासिक, दङाली आवाज वार्षिक, सप्तरङ्गी द्वैमासिक, अतिरिक्त त्रैमासिक, हेमप्रभा वार्षिक, विद्यासागर वार्षिक, राप्तीदूत वार्षिक, राप्तीका गीत (राप्तीका प्रतिनिधि गीतहरूको सङ्कलन) आदि रहेका छन् । उनी राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष एवम् अन्तध्र्वनि साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक रहेका छन् । उनले प्राप्त गरेका पुरस्कारमा घनश्याम साहित्यिक पुरस्कार –२०५०, राप्ती साहित्य परिषद्, बम—शङ्कर साहित्यिक पुरस्कार –२०६१, लेखक सङ्घ दाङ, गोबिन्द चिस स्मृति पुरस्कार–२०६३, प्रगतिशील लेखक संघ दाङ शाखा, कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार— २०७०, अखिल नेपाल जनसाँस्कृतिक महासड्घ, दाड शाखा, तुलसीराम स्मृति साहित्यिक पुरस्कार—२०७०, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँके, भूमा स्मृति राष्ट्र बचाऊ पुरस्कार —२०७०, दाड साहित्य तथा संस्कृति प्रतिष्ठान तुल्सीपुर, दाड, कतार—देउखुरी साहित्य पुरस्कार —२०७१, देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च, दाङ, पं. लीलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार—२०७४, नेपाल पत्रकार महासङ्घ, दाङ शाखा, ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार—२०७४, गजल अभियान, दाङ, चिन्तामणि—जमुना साहित्य पुरस्कार —२०७५, प्रगतिशील लेखक सङ्घ, दाङ शाखा, निर्जर राष्ट्रिय गजल पुरस्कार—२०७६, निर्जर साहित्य सम्प्रेषण अभियान नेपाल आदि रहेका छन् । उनले प्राप्त गरेका सम्मानमा अभिनन्दन, राप्ती समाज, काठमाण्डौं (२०६६), सम्मान, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, नेपालगञ्ज (२०६६), अभिनन्दन, स्रष्टा अभिनन्दन समारोह (२०७०), नेपाल पत्रकार महासड्घ, दाड शाखा, मोती साधना सम्मान (२०७३), मध्यपश्चिमाञ्चल गजल मञ्च, सुर्खेत, (सम्मान), गजल अभियान, दाङ—२०७३, (सम्मान), रोल्पाका साहित्यिक संस्थाहरु—२०७३ (५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिताका अवसरमा), (सम्मान), प्रदेशी साहित्य समाज, भारत (२०७४), सम्मान, शिवगढी साहित्य सङ्गम, (कपिलवस्त, २०७४), सम्मान, देउखुरी गजल अभियान, दाङ (२०७५) एवम् सम्मान, रोल्पा नगरपालिका (२०७६), रोल्पा गुराँस साहित्य मेलाका अवसरमा) आदि रहेका छन् । पछिल्लो समय लघुकथा लेखनमा पनि सक्रिय रहेका टीकाराम उदासीको लघुकथा प्रस्तुत गरेका छौं ः

गन्तव्य
टीकाराम उदासी
कोरोनाको महामारी प्रारम्भ हुँदा उनीहरु भारतको राजधानी नयाँ दिल्लीका विभिन्न होटेलहरुमा काम गरिरहेका थिए । लकडाउन प्रारम्भ भयो । त्यससँगै उनीहरु बेरोजगार भएर केही दिन आफ्नै कोठामा कोचिएर बसे । नेपालबाट साँझविहान फोन गयो –जसरी भएपनि आफ्नै घर आऊ । यतै केही गरेर बसौला । मरे यतै आफ्नै गाउँमा मरिन्छ ।
केही दिनपछि उनीहरु दिल्लीबाट देश फर्कन भनेर हिंडे । सिमानासम्म त जसरीतसरी आइपुगे उनीहरु तर त्यहाँ उहीहरुलाई रोकियो । आफ्नै देश फर्कन दिइएन । मनमा दुःख लागेपनि उनीहरु नाकावरिपरि बसे केही दिन । नाका खुलेपछि नेपाल भित्रिए र सबै क्वारेन्टाइनमा बसे करिब दुई हप्ता जति । देश फर्कदा जति दुःख र समस्या भोगेपनि देश फर्कन पाएकोमा भने उहीहरुलाई अपूर्व सन्तोष लाग्यो ।
गाउँ फर्किएपछि केही दिन रमाइलो जस्तै भयो । कारण गाउँमा आफ्ना घर थिए, परिवार थिए, आफन्त र साथीभाइ थिए । समग्रमा गाउँ आफ्नो थियो । पराई केही थिएनन्, पराई कोही थिएनन् ।
यतिबेला लकडाउन त भारतमा मात्रै नभएर देशभित्र पनि खुला गरिएको छ तर पेट पाल्नलाई उनीहरुसँग कुनै रोजगार छैन, कसैले देला भन्ने सम्भावना पनि छैन । कोरोनाको त्रास अझै बढिरहेको छ सबैतिर । त्यसबाट देश पनि टाढा हुने कुरा भएन ।
तिन महिनाजति जसरीतसरी गाउँमा बसेपछि उनीहरु फेरि आज बिहानै भारततिरै फर्किएका छन् । उनीहरुलाई मनमा लागेको छ, कोरोनाले मरिएछ भने पनि यहाँजस्तो त्यहाँ भोकले त पक्कै मर्नु पर्दैन होला ।

यसमा तपाइको मत