
गजल १
सुन्छुँ अचेल शहर तिर इमान बेच्दै छन रे
लास पुरेर मान्छे हरु चिहान बेच्दै छन रे।
खोइ के भनेर सुनाउँदिउँ गाउँमा आमालाई
बेली र सुन्तली आफ्नै ओच्छ्यान बेच्दै छन रे।
खुबै शहरीया बन्न गएका गोँथे र बिर्खे पनि,
कठै! कतै रेष्टुरेन्टमा पो जवान बेच्दै छन रे।
दुइ चार दिन शहर बसेका गोफ्लेका बुढा बुढी,
पिँजा र बर्गर खान गाउँको धान बेच्दै छन रे।
गाउँका गुन्डा हरुनै जब सिंहदरबार छिर्न थाले,
आफैं खेल्दै आएको त्यो मैदान बेच्दै छन रे।
गजल २
म ती मानबता भित्रको रुवाई बुझ्दै छु,
ओठ नखोल्नेको मुटुको दुखाई बुझ्दै छु।
हिजो सम्म भएको तिम्रो मेरो सपना एउटै
बाध्यताले हुनुपरेको यो पराई बुझ्दै छु।।
जब उदाङ्गो भयो मायाको बस्ती पनि,
अनि त तिमिले सरेको बसाइँ बुझ्दै छु।
हावामै अझै होलान कलिला ती सपनाहरु,
निर्मला र भागिरथी को चिच्याई बुझ्दै छु।
कुर्कुचा र काध दर्हो हुदा अचम्म लाग्थ्यो,
आज बा आमाको जिम्मेवारी उठाई बुझ्दै छु।।
सरस्वती पौडेल (सरु)
भरतपुर -५,चितवन ।।



