
१.
के सुनाउँ के बताउँ गरियो के कति जिन्दगीमा
जति गरे पनि भएन प्रगती उन्नती जिन्दगीमा
आफ्नाहरुलाई कहिल्यै खुशी बनाउन सकिन
सायद कमाउन सकिन टन्न सम्पती जिन्दगीमा
बिश्वास रहर जिन्दगी सबथोक त लुट्यौ यार
लिएर जाउ बचेका खुशिहरु छन जे जति जिन्दगीमा
यहि कामना गर्छु मलाई सडकको बास गराए नि
बिन्ती नहोस मेरो जस्तो तिम्रो दुर्गति जिन्दगीमा
कोशिस गरेकै हुँ सबैको पोल्टामा खुशी भर्ने
न बनेँ असल छोरो न बाउ न पति जिन्दगीमा
*****-*****
२.
अन्तिम हुन सक्छ फेरि बात नहुन सक्छ
अब पुन हाम्रो यात्रा एकसाथ नहुन सक्छ
आज रुन देउ आज रुदा कसैले देख्दैनन
फेरि मौका नआउन सक्छ बर्षात नहुन सक्छ
निदाउनु छ अन्तिम पटक तिम्रो काखमा
आमा भाग्यमा फेरि यस्तै रात नहुन सक्छ
प्रिय भन्न केहि बाकी भए मनमा नराख्नु
म यात्री हुँ के थाहा भेटघाट नहुन सक्छ
छोरी दिन्न भन्नू अगाडी सम्पती कति छ सोधे
समस्या औकात हुन सक्छ जात नहुन सक्छ



